लगातारको वर्षापछि यी सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक
काठमाडौं : लगातारको वर्षा र आगामी केही दिन भारी वर्षाको पूर्वानुमानपछि स्थानीय प्रशासनले विभिन्न सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएका छन्।
लगातार वर्षा भइरहेको र शुक्रबारदेखि सोमबारसम्म भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको र बाढी तथा पहिरोको उच्च जोखिम रहने जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानको आधारमा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्मका लागि विभिन्न सडक बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार एक सूचना जारी गरेर बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको छ। धादिङ र आसपासका क्षेत्रमा निरन्तर भइरहेको वर्षा र आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षाको पूर्वानुमान रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम रहने हुँदा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताइन्।
त्यस्तै दाङ जिल्ला भएर सञ्चालन हुने जोखिमयुक्त पाँच वटा सडक खण्डमा बिहीबारदेखि आइतबारसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विभिन्न पाँच सडक खण्डहरू बन्द रहनेछन्।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट सडक खण्ड, भालुवाङ-चकचके (प्युठान) सडक : भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही-होलेरी सडक खण्ड, घोराही-मुर्कुटी सडक खण्ड र तुलसीपुर-सुर्खेत सडकअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म रातिको समयमा सवारीसाधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, तिनाउ नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन बुटवल नगरपालिकाले अनुरोध गरेको छ। मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै बुटवलमा सम्भावित बाढी, पहिरो र अन्य विपद्को जोखिमलाई ध्यानमा राखेर सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको छ।
प्रहरीले पनि जोखिमयुक्त क्षेत्रमा माइकिङ गरेर ‘सुरक्षित रहनुस्, तर नआत्तिनुस्’ भन्दै नगरवासीलाई सचेत गराएको छ। मौसमविद्हरूले जोखिमयुक्त क्षेत्रमा नजान, सम्भव भएसम्म लामो दूरीको यात्रा नगर्न तथा सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना पालना गर्न सुझाव दिएका छन्।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय पाँचथरले मेची राजमार्ग, तमोर कोरिडोर सडक, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, भेडेटार-रबि-राँकेलगायतका सडकमा असोज ८ गतेदेखि असोज ११ गतेसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरेको छ। भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गर्न रातको समयमा जिल्लास्थित सबै सडकमा सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए।
यता, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिहीबार साँझ ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म चितवनको पृथ्वीराजमार्ग क्षेत्र र नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी रोकिएको बताए। निरन्तर वर्षात भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले सवारीसाधन रोक लगाइएको उनले बताए। बिहानको अवस्था हेरेर थप सूचना गरिने उनको भनाइ छ।
त्यस्तै, बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाका राजमार्ग तथा अन्य ग्रामीण सडक अवरुद्ध भएका छन्। पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन-बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र तथा माथागढी गाउँपालिका-१, चिदीपानीस्थित आर्यभञ्ज्याङ-रामपुर सडकखण्डमा यातायात प्रभावित भएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउने काम जारी छ। लगातारको वर्षाका कारण पाल्पाका केही स्थानमा विद्युत् सेवा समेत अवरुद्ध भएको छ।
असोज ८, २०८३ बिहीबार १५:४९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।