आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएको सुनसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
कतारको दोहाबाट कतार एयरलाइन्समार्फत आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार गरेको आरोपमा बाराका अनिस अन्सारी र ५३६ ग्राम अवैध धातुसहित भारतीय नागरिक मोहम्मद चेरा थोडी विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट पक्राउ परेका हुन्।
विमानस्थल प्रहरीका अनुसार अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट बारा पचरौता नगरपालिका-१ पिपरपाटीका अन्सारीलाई नियन्त्रणमा लिइएको थियो। उनको साथबाट ७९.६ ग्रामको सुनका गरगहना बरामद गरिएको थियो।
यसैगरी, कतारको दोहाबाट काठमाडौं ओर्लिएका भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडीको गतिविधि शंकास्पद देखिएपछि बाह्य पार्किङ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। जाँचको क्रममा उनको साथबाट भन्सार छली गरी ल्याइएको ५३६ ग्राम सुन फेला परेको हो।
बरामद गरिएको सुनसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।
असोज ८, २०८३ बिहीबार १४:४८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।