‘गृहमन्त्रीलाई नै स्वाट्टै हान्छु भन्ने कस्तो भन्सार अधिकृत?’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकृतदेखि विभागीय प्रमुख र गृहमन्त्रीसम्मलाई ‘स्वाट्टै हान्छु’ भन्दै धम्क्याएको अडियो सार्वजनिक भएको भन्दै तत्काल निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद संग्रौलाले सार्वजनिक भएको विवादित अडियोप्रति सरकार र सदनको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।
कञ्चनपुरका भन्सार अधिकृतले भन्सारमा भारतीय गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर कैलालीका सशस्त्र प्रहरी अधिकृतलाई अत्यन्तै तल्लो स्तरको र धम्कीपूर्ण भाषा प्रयोग गरी थर्काएको अडियो बाहिरिएको उनले संसदलाई जानकारी गराइन्।
‘ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र स्वयं गृहमन्त्रीलाई समेत स्वाट्टै हान्छु भन्दै कानुन, मर्यादा र चेन अफ कमान्डको धज्जी उडाएका छन्,’ सांसद संग्रौलाले भनिन्, ‘सभामुख महोदय, यो स्वाट्टै हान्छु भनेको के हो? फोन हान्छु भनेको हो कि, तिमीलाई भेटेर हान्छु भनेको हो कि, तिम्रो पद खान्छु भनेको हो? एउटा भन्सारको अधिकृतले गृहमन्त्रीलाई नै हान्ने हैसियत राख्छ भने आज हामी यो सदनमा के गरिरहेका छौँ?’
राजस्व चुहावट नियन्त्रण गर्न सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने र राज्यका उच्चपदस्थ अधिकारीलाई सार्वजनिक रूपमै चुनौती दिने यस्तो गैरजिम्मेवार र अमर्यादित शैली कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उनले प्रस्ट पारिन्।
यस्ता गतिविधिले राष्ट्रिय सुरक्षा निकाय, निजामती सेवा र सिंगो राज्य संयन्त्रको छविमा गम्भीर आघात पुर्याएको उनको भनाइ थियो।
सांसद संग्रौलाले अडियो प्रकरणको तुरुन्त र निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्न तथा सीमा क्षेत्रमा खटिने सुरक्षा निकाय र राजस्व प्रशासनबीच उचित समन्वय र मर्यादित वातावरण कायम गर्न नेपाल सरकारले तत्काल ठोस कदम चाल्न आग्रह गरेकी छन्।
असोज ८, २०८३ बिहीबार १२:११:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।