सरकारलाई रास्वपा सांसदको प्रश्न- कानुन ठूलो कि नागरिकको जीवन?

सरकारलाई रास्वपा सांसदको प्रश्न- कानुन ठूलो कि नागरिकको जीवन?

काठमाडौं : ‘एउटा संघीय सांसद भएर राज्यका निकायहरूसम्म सिधा पहुँच हुँदा त गम्भीर बिरामीलाई समयमै हेलिकप्टरबाट उद्धार गर्न मन्त्रालय-मन्त्रालय भौँतारिनुपर्छ भने दूरदराजका सामान्य नागरिकले यस्तो विपद्मा कसको ढोका ढकढक्याउने?’

प्रतिनिधि सभाको आजको आकस्मिक समयमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्रसिंह महताले आफ्नै परिवारले भोगेको घटना सुनाउँदै राज्य संयन्त्रको संवेदनहीनता र कानुनी जटिलतामाथि गम्भीर प्रश्न उठाएका छन्।

आफ्नो पीडा सुनाउने क्रममा भावुक बनेका सांसद महताले सुत्केरी व्यथापछि गम्भीर बनेकी आफ्नै भाइबुहारीको ज्यान बचाउन सरकारी संयन्त्रसँग गुहार माग्दा पाएको हन्डर संसदमा पोखेका हुन्।

के थियो घटना?
सांसद महताका अनुसार गत भदौ ६ गते उनकी भाइबुहारीलाई सुत्केरी व्यथा लागेपछि कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको थियो। भदौ ७ गते शल्यक्रियामार्फत छोरी जन्मिएपछि परिवारमा खुसी छाए पनि त्यो धेरै बेर टिक्न सकेन। शल्यक्रियापछि अचानक आमाको मुटुको चाल रोकियो।

अवस्था अत्यन्त जटिल बनेपछि चिकित्सकहरूले तत्काल भेन्टिलेटरसहितको हेलिकप्टरमार्फत सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरे।

त्यसपछि आपत्कालीन उद्धारका लागि सांसद महताले स्वास्थ्य, महिला बालबालिका तथा गृह मन्त्रालयमा लगातार सम्पर्क गरे। तर, कुनै पनि मन्त्रालयमा कसैले फोन उठाएन। निरुपाय भएपछि उनी संसदमै रहेका सभामुखको कार्यकक्षमा पुगे।

‘म परिवारको सदस्यको जीवन बचाउनुपर्ने अत्यन्तै पीडादायी अवस्थामा थिएँ। सभामुखज्यूलाई सबै कुरा बताउँदै गर्दा म भावनात्मक रूपमा यति विचलित भएँ कि त्यो शब्दमा बयान गर्न सकिँदैन’, महताले भने।

सभामुखले तत्काल स्वास्थ्यमन्त्रीलाई फोन गरेर जसरी भए पनि उद्धारको व्यवस्था मिलाउन निर्देशन दिए। तर, स्वास्थ्य, महिला तथा गृह मन्त्रालयसम्म धाउँदा अन्ततः एउटै जवाफ आयो-  ‘कानुनी जटिलताका कारण हेलिकप्टर उद्धार गर्न सकिँदैन!’

त्यसपछि निजी क्षेत्रको हेलिकप्टर खोजेर काठमाडौँको मेडिसिटी अस्पताल र महाकाली अस्पतालका चिकित्सकहरूको समन्वयमा बिरामीको ज्यान जोगाउने प्रयास गरिएको उनले बताए।

संसदबाट सरकारलाई तीन कडा प्रश्न र माग :
संसदमा आक्रोश र पीडा व्यक्त गर्दै सांसद महताले भने, ‘त्यतिबेला मेरो अगाडि एउटै प्रश्न थियो- कानुन ठूलो कि एउटा नागरिकको जीवन?’

‘मानव जीवनभन्दा ठूलो कुनै प्रक्रिया वा नियम हुन सक्दैन,’ उनले भने, ‘कानुन नागरिकको जीवन सहज बनाउन बनेको हो, जीवन बचाउने बाटो छेक्न होइन।’

हामी निर्वाचित भएर आएको ६ महिना बितिसक्दा पनि नागरिकको जीवन बचाउन बाधक बन्ने ऐन-कानुन किन संशोधन हुन सकेनन्? भन्दै उनले सरकारलाई प्रश्न गरेका छन्।

सांसद महताले स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण, जिल्ला प्रशासन र निजी हेलिकप्टर कम्पनीहरूबीच २४सै घण्टा समन्वय हुने प्रभावकारी संयन्त्र बनाउन माग गरेका छन्।

चिकित्सकको सिफारिसका आधारमा कुनै पनि कानुनी प्रक्रियामा नअल्झिई तुरुन्तै हवाई उद्धार गर्ने पारदर्शी प्रणाली लागु गर्न र सुदूरपश्चिम लगायत भौगोलिक रूपमा दुर्गम क्षेत्रका नागरिकका लागि हवाई उद्धार र पूर्वतयारीलाई विशेष प्राथमिकतामा राख्न माग गरेका छन्।

सांसद महताले आफूले कुनै व्यक्ति विशेषका लागि नियम मिच्न नभनेको, बरु प्रत्येक नेपाली नागरिकले संकटको समयमा राज्यबाट समयमै जीवनरक्षाको प्रत्याभूति पाउनुपर्ने अडान राखे।

असोज ८, २०८३ बिहीबार ११:५८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।