धावनमार्गमा गुड्दागुड्दै सीता एयरको टायर फुस्कियो

धावनमार्गमा गुड्दागुड्दै सीता एयरको टायर फुस्कियो

काठमाडौं : नेपालगन्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा जुफाल विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ।

बिहीबार बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा धावनमार्गमै जहाजको पछाडिपट्टिको दाहिने टायर खुस्किएर बाहिर निस्किए पनि सम्भावित ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख (डीएसपी) अनिलराज गिरीका अनुसार जहाजमा सवार चालक दलका सदस्यसहित सबै १३ जना यात्रु पूर्ण रूपमा सकुशल छन्।

‘नेपालगन्जबाट आएको जहाज बिहान ८:२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको दाहिने साइडको टायर फुत्किएर बाहिर निस्किएको हो,’ डीएसपी गिरीले उकेरासँग भने, ‘जहाजमा सवार सबै यात्रुहरू सकुशल र सुरक्षित हुनुहुन्छ, कुनै मानवीय क्षति भएको छैन।’

चक्का खुस्किएपछि जहाज केही पर उछिट्टिएको भए पनि पाइलटले तत्कालै इन्जिन बन्द गरिदिएका कारण आगलागी वा थप अप्रिय दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ।

जहाजमा ७ जना विदेशी र ६ जना नेपालीसहित कुल १३ जना यात्रु सवार थिए। जसमा ११ जना पुरुष र २ जना महिला रहेका छन्।

दुर्घटनापछि सीता एयरको ‘९एन-एजेएच’ कलसाइन रहेको उक्त जहाज हाल धावनमार्ग (रनवे) मै रोकिएको छ। प्राविधिक टोलीले जहाजको अवस्थाबारे अनुसन्धान गरिरहेको र धावनमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

असोज ८, २०८३ बिहीबार ०९:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।