विहानैदेखि देशभर वर्षा : रातिदेखि अझ् ठूलो पानी पर्ने, आइतबारसम्म यात्रा नगर्न मौसमविद्को सुझाव

विहानैदेखि देशभर वर्षा : रातिदेखि अझ् ठूलो पानी पर्ने, आइतबारसम्म यात्रा नगर्न मौसमविद्को सुझाव

काठमाडौं : बंगालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय प्रणाली जमिनको सतहमा प्रवेश गरेसँगै काठमाडौंसहित देशभर मौसम प्रतिकूल बन्दै गएको छ।

बिहीबार बिहानैदेखि देशका अधिकांश भागमा झरी परिरहेको छ भने आज रातिदेखि वर्षाको तीव्रता, हावाहुरी र चट्याङ थप बढ्ने चेतावनी मौसमविद्हरूले दिएका छन्।

मौसम थप बिग्रने र राजमार्गहरूमा पहिरो तथा उच्च हिमाली भेगमा हिमपहिरोको जोखिम बढेकाले आगामी आइतबारसम्मका लागि लामो दूरीको यात्रा स्थगित गर्न मौसमविद्हरूले सुझाव दिएका छन्।

मौसमविद् उज्वल उपाध्यायका अनुसार अहिले काठमाडौंसहित मुलुकको पूर्वी, मध्य र मध्यपश्चिमका धेरै भूभागमा झरी सुरु भइसकेको छ।

‘आज बिहीबार तुलनात्मक रूपमा केही सामान्य वर्षा भए पनि रातिदेखि झरीको तीव्रता बढ्दै जानेछ,’ उनले भनेका छन्, ‘कुनै बेला एकछिन मौसम खुले जस्तो देखिए पनि त्यो क्षणिक हुनेछ। केही बेरमै ठूलो वर्षा हुन सक्ने भएकाले भोलिदेखि विशेष सतर्कता आवश्यक छ।’

लुम्बिनीमा धेरै भारी वर्षा
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा विशेष गरी लुम्बिनी, कोशी र गण्डकी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको छ।

महाशाखाको विवरण अनुसार पछिल्लो १२ घण्टामा पाल्पाको बल्ड्याङगढीमा १३१ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा १२३ मिलिमिटर, मैनारमा ११७.८ मिलिमिटर र अर्घाखाँचीको सिमलपानीमा ९१.४ मिलिमिटर वर्षा मापन भएको छ।

यसका साथै तनहुँ, कास्की, सिन्धुपाल्चोक, खोटाङ र संखुवासभा लगायतका जिल्लाहरूमा पनि भारी वर्षा भएको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी छ।

के छ प्रणालीको अवस्था?
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिट ढकालका अनुसार उत्तरी अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बंगालको खाडी हुँदै भारतको विशाखापट्टनम आसपासबाट जमिनको सतहमा प्रवेश गरेको छ।

नेपालमा यो प्रणाली सीधै प्रवेश नगरे पनि यसको प्रत्यक्ष असर परेको हो। अहिले यो न्यूनचापीय प्रणालीकै रूपमा जमिनमा प्रवेश गरेको छ। अब यसमा थप शक्ति विकास हुने सम्भावना नभएको र विस्तारै कमजोर हुँदै जाने उनको भनाइ छ।

प्रणाली कमजोर हुँदै जाने भए पनि यसले नेपालतर्फ पर्याप्त जलवाष्पयुक्त हावा पठाइरहेकाले आगामी तीन दिनसम्म बाढी, पहिरो र डुबानको उच्च जोखिम रहने भन्दै सचेत रहन आग्रह मौसम विज्ञान विभागले आग्रह गरेको छ।

असोज ८, २०८३ बिहीबार ०८:०४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।