कार्यवाहक प्रधानमन्त्रीमा स्वर्णिमको पहिलो दिन : राष्ट्रपतिसँग शिष्टाचार भेटदेखि ‘हाई अलर्ट’को ब्रिफिङसम्म
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेपछि देशको कार्यकारी जिम्मेवारी सम्हाल्न आइपुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो २४ घण्टा निकै व्यस्त देखियो।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्री तोकेपछि डा. वाग्लेको दैनिकी मात्र होइन, पोसाकको शैलीमा समेत फेरबदल देखियो।
प्रायः सर्ट, पाइन्ट र टाइमा देखिने मन्त्री डा. वाग्ले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै परम्परागत नेपाली पोसाक दौरासुरुवालमा प्रस्तुत भए।

मंगलबार साँझ ७ बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई बिदाइ गर्न डा. वाग्ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगे।
प्रधानमन्त्रीकै कार्यकक्षबाट उनलाई बिदाइ गर्दै वाग्लेले लामो हवाई यात्राका क्रममा अध्ययनका लागि पल केनेडीद्वारा लिखित चर्चित पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ उपहारस्वरूप दिए।
शीतल निवासमा शिष्टाचार भेट
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएलत्तै डा. वाग्ले बुधबार बिहानै राष्ट्रपति भवन शीतल निवास पुगे। त्यहाँ उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरे। सो अवसरमा सरकार सञ्चालन र मुलुकको समसामयिक विषयमा कुराकानी भयो।
वालेन्द्र शाह प्रधानमन्त्री भएपछि राष्ट्रपतिसँग पहिलो भेट गर्न उनलाई चार महिना लागेको थियो। त्यो पनि विशेष परिस्थितिमा।
साउन १० गतेपछि दुई समुदायबीच झडपले मधेश अशान्त भएपछि मात्र उनले पहिलो पटक राष्ट्रपतिसँग भेट गरेका थिए। तर, कार्यावाहक प्रधानमन्त्री भएको भोलिपल्टै स्वर्णिमले राष्ट्रपतिलाई भेटेका हुन्।
शीतल निवासबाट डा. वाग्ले संघीय संसद् भवन नयाँ बानेश्वर पुगे। त्यहाँ उनले प्रतिनिधि सभा बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिए।
रोचक कुरा के थियो भने, विधेयकका सन्दर्भमा विभागीय अर्थमन्त्रीका रूपमा जवाफ दिए पनि संसद् परिसरमा उनको आवागमन र सुरक्षा भने कार्यवाहक प्रधानमन्त्रीकै उच्च प्रोटोकल अनुसारको थियो।

अमेरिकी कार्यवाहक राजदूतसँग कूटनीतिक संवाद
संसद् बैठकपछि अर्थ मन्त्रालय पुगेका कार्यवाहक प्रधानमन्त्री डा. वाग्लेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेटवार्ता गरिन्।
भेटमा दुई देशबीचको आर्थिक साझेदारी, व्यापार तथा द्विपक्षीय चासोका विषयमा गहन छलफल भएको थियो। छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र अमेरिकी दूतावासका उच्च अधिकारीहरूको समेत उपस्थिति थियो।
मौसम र विपद् पूर्वतयारीमा सक्रियता
बुधबार दिउँसो नै डा. वाग्लेले देशभर हुन सक्ने सम्भावित मौसमी विपद्बारे उच्चस्तरीय ब्रिफिङ लिए।
बङ्गालको खाडीमा बनेको ‘डिप डिप्रेसन’का कारण देशभर भारी वर्षाको चेतावनी दिइएपछि उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठलाई मन्त्रालयमै बोलाएर पूर्वतयारीबारे जानकारी लिए।

देशभर ‘हाई अलर्ट’ जारी गरिएको, २४सै घण्टा सूचना डेस्क सञ्चालनमा ल्याइएको र सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी लिँदै उनले सम्भावित क्षति न्यूनीकरणका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए।
प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण अवधिभर कार्यकारी कमान्ड सम्हाल्ने जिम्मा पाएका डा. वाग्लेले आफ्नो कार्यकालको पहिलो दिनमै शीतल निवासदेखि संसद्सम्म र कूटनीतिक भेटघाटदेखि राष्ट्रिय विपद्को पूर्वतयारीसम्म सक्रियता देखाए।
असोज ७, २०८३ बुधबार २२:२७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।