भारी वर्षाको चेतावनीपछि शिक्षा मन्त्रालयले भन्यो- आवश्यकताअनुसार विद्यालय बिदा दिनू, परीक्षा स्थगित गर्नू

भारी वर्षाको चेतावनीपछि शिक्षा मन्त्रालयले भन्यो- आवश्यकताअनुसार विद्यालय बिदा दिनू, परीक्षा स्थगित गर्नू

काठमाडौं : देशभर भारीदेखि अति भारी वर्षा र प्राकृतिक विपद्को उच्च जोखिमलाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यकताअनुसार विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न आग्रह गरेको छ।

मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै असोज ८ र ९ गते स्थानीय तहसँग समन्वय गरेर विद्यालयहरूमा बिदा दिन तथा असोज ९ देखि ११ गतेसम्म तोकिएका विश्वविद्यालय र अन्य निकायका परीक्षाहरू स्थगित गर्न अनुरोध गरेको हो।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगामी असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हावाहुरीसहित चट्याङ पर्ने सम्भावना छ।

यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, सडक तथा विद्युत् र सञ्चार अवरोध हुन सक्ने भएकाले शिक्षण संस्था, विद्यार्थी र अभिभावकलाई पूर्वतयारीसहित सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

असोज ७, २०८३ बुधबार २१:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।