शिक्षक सरुवा र व्यवस्थापन समितिको गाँठो फुकाइँदै, दशैंअघि शिक्षा नियमावली संशोधन गर्न मन्त्रीको निर्देशन
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या र विद्यालय व्यवस्थापन समिति (विव्यस) सँग जोडिएका जटिलता समाधान गर्ने गरी दसैँअगावै शिक्षा नियमावलीको एघारौं संशोधन टुङ्ग्याउन निर्देशन दिएका छन्।
बुधबार मन्त्रालयका सचिवसहितका उच्च पदा धिकारी र सचिवालयसँगको छलफलमा उनले नियमावलीको दसौँ संशोधनपछि उत्पन्न विवाद र गुनासाहरूलाई सम्बोधन गर्दै तत्काल संशोधित मस्यौदा तयार पार्न निर्देशन दिएका हुन्।
विशेषगरी शिक्षा नियमावलीको दशौं संशोधन लागू भएपछि देशभर शिक्षक सरुवा प्रक्रियामा प्राविधिक उल्झन देखिएको थियो भने विद्यालय व्यवस्थापन समितिको गठन र क्षेत्राधिकारका विषयमा पनि कानुनी जटिलता थपिएको थियो।
यी दुई प्रमुख विषयमा सरोकारवालाबाट तीव्र असन्तुष्टि आएपछि मन्त्रालयले यसलाई प्राथमिकतामा राखेर संशोधन अघि बढाएको हो।
“शिक्षक सरुवालाई सहज र पारदर्शी बनाउन तथा व्यवस्थापन समितिमा देखिएका व्यावहारिक र कानुनी उल्झन हटाउन आवश्यक संशोधनसहितको मस्यौदा तत्काल तयार गर्नुहोस्,” मन्त्री पोखरेलले भने, “दशैंअगावै प्रक्रिया पूरा गरेर नयाँ नियमावली कार्यान्वयनमा ल्याउनुपर्छ।”
यसअघि मन्त्री पोखरेल, उनका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका उच्च अधिकारी तथा विज्ञहरूको टोलीले सातै प्रदेशमा पुगेर शिक्षक, अभिभावक र सरोकारवालासँग चरणबद्ध छलफल गरी सुझाव संकलन गरेको थियो।
सरकारले चालु वर्षलाई ‘कानुन निर्माणको वर्ष’ घोषणा गरेको स्मरण गराउँदै मन्त्री पोखरेलले आफ्नो मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने अन्य ऐन र नियमावली निर्माणको कामलाई पनि तीव्रता दिन निर्देशन दिएका छन्।
प्राप्त सुझावहरूलाई समेटेर नियमावलीको एघारौँ संशोधनलाई अन्तिम रूप दिने काम भइरहेको मन्त्रालयले जनाएको छ।
असोज ७, २०८३ बुधबार २१:१९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।