देशभर ‘हाई अलर्ट’ : कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसम र विपद् पूर्वतयारीको ब्रिफिङ

देशभर ‘हाई अलर्ट’ : कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसम र विपद् पूर्वतयारीको ब्रिफिङ

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले यस साता हुन सक्ने सम्भावित मौसमी जोखिम र त्यसको पूर्वतयारीबारे सरोकारवाला निकायहरूसँग जानकारी लिएका छन्।

बुधबार अर्थ मन्त्रालयमा उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठसँग मौसमी अवस्थाको प्रक्षेपण र पूर्वतयारीबारे ब्रिफिङ लिएका हुन्।

छलफलका क्रममा महानिर्देशक डा. श्रेष्ठले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (डिप डिप्रेसन) र मनसुनी वायुको सक्रियताका कारण नेपालभर ‘हाई अलर्ट’ जारी गरिएको जानकारी दिइन्।

उनका अनुसार यो प्रणालीका कारण केही दिन वर्षाको सम्भावना रहे पनि आगामी आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ।

त्यसैगरी, विपद् जोखिम न्यूनीकरणका लागि प्राधिकरणले २४सै घण्टा सूचना डेस्क सञ्चालनमा ल्याएको कार्यकारी प्रमुख डा. उप्रेतीले बताए।

उनले सम्भावित जोखिमयुक्त जिल्लाका प्रशासन कार्यालय, यातायात, पर्यटन तथा पूर्वाधार लगायतका क्षेत्रसँग प्रत्यक्ष समन्वय गरी आवश्यक सतर्कता अपनाइएको जानकारी गराएका थिए।

असोज ७, २०८३ बुधबार २०:३७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।