बंगालको खाडीको प्रणाली नेपालतर्फ : पाँच दिन भारी वर्षाको चेतावनी, यी क्षेत्रमा ‘रेड अलर्ट’
काठमाडौं : बंगालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) का कारण आगामी पाँच दिन नेपालभर भारी वर्षाको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै बाढी, पहिरो, डुबान र हिमपातको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन अपिल गरेको छ।
महाशाखाका अनुसार बंगालको खाडीको पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी भू-भागमा बनेको यो प्रणाली पश्चिम-उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ।

यो प्रणाली आन्ध्र प्रदेश र दक्षिणी ओडिसाको तटीय क्षेत्र हुँदै थप सक्रिय भएर नेपालसम्म प्रभाव पार्ने देखिएको छ।
धेरै ठाउँमा ‘रेड अलर्ट’
महाशाखाले जारी गरेको पाँच दिने जोखिम नक्साअनुसार असोज ९ र १० गते (शुक्रबार र शनिबार) देशका अधिकांश भूभागमा वर्षाको जोखिम उच्च ‘रेड अलर्ट’ रहनेछ।

प्रारम्भमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेश बढी प्रभावित हुनेछन् भने क्रमशः यो प्रणाली पश्चिम सर्दै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत भीषण वर्षा गराउने पूर्वानुमान छ।
बाढी, पहिरो र डुबानको जोखिम
लगातारको वर्षाका कारण ठूला तथा साना नदीनाला र खोलाहरूमा जलसतह खतराको तहभन्दा माथि पुग्न सक्ने चेतावनी दिइएको छ।

पहाडी भेगमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहनेछ भने सहरी क्षेत्र र तराईका भूभागमा डुबानको समस्या निम्तिन सक्ने महाशाखाले जनाएको छ।
यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी तटीय क्षेत्रका निर्माण कार्य तथा सडक र हवाई यातायात समेत अवरुद्ध हुन सक्ने भएकाले पूर्वतयारीमा जुट्न सबै सरोकारवाला निकायलाई आग्रह गरिएको छ।

धानबाली नकाट्न र पर्वतारोहीलाई सतर्क रहन आग्रह
हाल किसानहरू धानबाली भित्र्याउने तयारीमा जुटिरहेका बेला मौसम प्रतिकूल बन्ने देखिएकाले कृषि विज्ञको सल्लाहविना बाली नकाट्न महाशाखाले अनुरोध गरेको छ।
यस्तै, मौसमी प्रणालीका कारण उच्च हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले पदयात्रा तथा पर्वतारोहणमा रहेका पर्यटक र गाइडहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

मौसममा आउन सक्ने थप फेरबदललाई नियमित अनुगमन गरिरहेको जनाउँदै महाशाखाले अद्यावधिक सूचना हेर्न र आवश्यक जानकारीका लागि टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
असोज ७, २०८३ बुधबार १९:२६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।