बाढी पूर्वानुमानको समयावधि विस्तार, प्रमुख नदीको ५ दिन र साना नदीको २ दिनअघि सूचना दिइने

बाढी पूर्वानुमानको समयावधि विस्तार, प्रमुख नदीको ५ दिन र साना नदीको २ दिनअघि सूचना दिइने

काठमाडौं : जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले नदीहरूमा आउने बाढी तथा आकस्मिक बाढीको पूर्वानुमान समयावधि विस्तार गरेको छ।

अब तोकिएका प्रमुख नदीहरूमा ५ दिनअघि र साना नदीहरूमा २ दिनअघि नै बाढीको सम्भावित जोखिमबारे पूर्वसूचना उपलब्ध हुनेछ।

यसअघि केन्द्रले प्रमुख नदीहरूको बाढी पूर्वानुमान ३ दिन र साना नदीहरूको आकस्मिक बाढी पूर्वानुमान १ दिन अघि मात्रै गर्दै आएको थियो।

केन्द्रका उप-कार्यकारी निर्देशक तथा प्रवक्ता डा. राजन भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार पूर्वानुमानको समयावधि बढेसँगै विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, सतर्कता तथा आवश्यक प्रतिकार्यका लागि सरोकारवाला निकाय र नागरिकलाई थप समय मिल्नेछ।

केन्द्रले आफ्नो ‘नेपाल-फोकस्ड फ्लड फोरकास्टिङ मोडल’ तथा ‘ईसीएमडब्लूएफ इन्सेम्बल फोरकास्ट’मा आधारित प्रणालीलाई अन्य विश्वव्यापी र क्षेत्रीय मोडेलहरूसँग एकीकृत गरी यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

दुई दिने आकस्मिक बाढीको जोखिम पूर्वानुमान तयार पार्दा दक्षिण एसिया–आकस्मिक बाढी विश्लेषण प्रणाली, माटोको चिस्यानको अवस्था (एन्टेसिडेन्ट सोइल मोइस्चर), नदीको हालको जलसतह र प्रवाह, वर्षाको सम्भावना तथा जलाधारको अवस्थालाई समग्र रूपमा विश्लेषण गरिएको केन्द्रले स्पष्ट पारेको छ।

आगामी दिनमा पूर्वानुमानलाई स्थान र समयअनुसार अझ बढी सटिक बनाउँदै प्रभावमा आधारित पूर्वसूचना प्रणालीलाई थप सुदृढ लैजाने केन्द्रले जनाएको छ।

असोज ७, २०८३ बुधबार १९:१६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।