फ्लाई दुबईद्वारा पोखरामा नियमित उडान सुरु, पहिलो जहाज अवतरण

फ्लाई दुबईद्वारा पोखरामा नियमित उडान सुरु, पहिलो जहाज अवतरण

पोखरा : फ्लाई दुबईले दुबई-पोखरा-दुबई रुटमा नियमित व्यावसायिक उडान सुरु गरेको छ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १३ यात्रु लिएर उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

विमानस्थलमा जहाजलाई ‘वाटर क्यानन सल्युट’ले स्वागत गरिएको थियो। यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालगायत पर्यटन व्यवसायी विमानस्थल पुगेका थिए।

यो जहाज आजै साँझ १ सय ५३ यात्रु बोकेर दुबई फर्कने तालिका रहेको महाप्रबन्धक निरौलाले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको दैनिक उडान तालिका साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने रहेको छ।

यसअघि केही वायुसेवाले चार्टर्ड उडान गरे पनि नियमित व्यावसायिक उडान हुन नसकेको अवस्थामा फ्लाई दुबईको आगमनले नयाँ आशा जगाएको निरौलाले बताए।

“पोखराबाट दुबई हुँदै युरोप, अमेरिकालगायत गन्तव्यमा जाने यात्रुको यात्राअवधि र खर्च घट्नेछ,” उनले भने, “पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकलाई सिधै भित्र्याउन र वैदेशिक रोजगारी तथा अध्ययनमा जानेहरूका लागि पनि यो उडान निकै लाभदायी हुनेछ।”

फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक ‘कोडसेयर’ साझेदारी रहेकाले पोखराबाट उड्ने यात्रुले एउटै टिकटमा विश्वका १२० भन्दा बढी गन्तव्यमा सहजै यात्रा गर्न सक्नेछन्।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान आकर्षित गर्न सरकारले छुट र सहुलियतका योजना ल्याएको थियो।

जसअन्तर्गत वि.सं. २०८५ भदौ मसान्तसम्म विमानस्थलको पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिइएको छ।

सरकारको कूटनीतिक पहल र सहुलियतपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएर फ्लाई दुबईले उडान थालेको हो।

असोज ७, २०८३ बुधबार १९:०६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।