न्युयोर्कमा के गर्दै छन् परराष्ट्रमन्त्री खनाल ?

न्युयोर्कमा के गर्दै छन् परराष्ट्रमन्त्री खनाल ?

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न समकक्षीहरूसँगको संवादलाई सक्रिय बनाएका छन्।

मन्त्री खनालले महासभाको साइडलाइनमा विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालका पछिल्ला बाढी–पहिरोबाट भएको क्षति, जलवायु न्याय, पुनः स्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगलगायतका विषयमा छलफल गरिरहेका छन्।

खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरे। न्युयोर्कमा भएको भेटवार्तामा दुबैबीच नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गरे।

न्युयोर्कमा मंगलबार उनको अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग भेटवार्ता भएको थियो। भेटमा अमेरिकाले बाढीबाट प्रभावित नेपालको पुनः स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गर्यो।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, प्रभावित क्षेत्रमा स्थायी रूपमा निर्माण गरिने पुलका लागि अमेरिकी संसद्सँग समन्वय गरी थप १० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ।

मंगलबार नै अमेरिकी वाणिज्य मण्डलका प्रमुख अन्तर्राष्ट्रिय मामिला अधिकारी डा. जोसुवा वाकरले पनि परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरे।

उक्त भेटमा नेपालमा आर्थिक सहकार्यलाई थप विस्तार गर्ने तथा नेपाल र अमेरिकाबिचको व्यावसायिक साझेदारी सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आयोजित विशेष रात्रिभोजमा सहभागी भएका थिए।

असोज ७, २०८३ बुधबार १०:३९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।