असोज ९ देखि ११ सम्म भारीदेखि ‘अति भारी’ वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

असोज ९ देखि ११ सम्म भारीदेखि ‘अति भारी’ वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं : असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका अधिकांश भू-भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ विशेष मौसम बुलेटिन जारी गर्दै बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै गएकाले नेपालमा मनसुन थप सक्रिय हुने जनाएको हो।

महाशाखाका अनुसार, उत्तर अन्दमान सागर आसपास विकसित भएको न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू-भागमा रहेको छ।

यो प्रणाली थप शक्तिशाली भई ‘डिप डिप्रेसन’ (बलियो न्यून चापीय क्षेत्र) को रूपमा पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ। यसको प्रभावले बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने छ।

कहाँ-कस्तो वर्षाको जोखिम ?
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा ‘अति भारी वर्षा’ को सम्भावना छ।

कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण।
कर्णाली प्रदेश : थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

यस अवधिमा देशका अधिकांश भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ भने हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेको छ।

विभागले जारी गरेको ‘वर्षा जोखिम नक्सा’ मा कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरैजसो भू-भागलाई रातो रङ अर्थात् रेड अलर्ट तहमा राखिएको छ।

बाढी, पहिरो र डुबानको उच्च जोखिम
लगातारको वर्षाका कारण देशका पहाडी भू-भागमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (डेब्रिस फ्लो) को जोखिम उच्च रहने महाशाखाले चेतावनी दिएको छ।

यस्तै, सहरी क्षेत्र तथा तराईका भू-भागमा डुबानको खतरा छ भने ठूला तथा साना नदी-खोलाहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने देखिएको छ।

मौसम प्रतिकूल हुने भएपछि सडक तथा हवाई यातायात, दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा निर्माण कार्यसमेत प्रभावित हुन सक्ने भन्दै पूर्वतयारी अपनाउन सरोकारवाला निकायलाई आग्रह गरिएको छ।

हाल धानबाली भित्र्याउने मौसम सुरु भएकाले तत्कालका लागि सम्बन्धित कृषि विज्ञको सल्लाह लिएर मात्र काम गर्न वा धान नकाट्न भनिएको छ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना भएकाले पर्वतारोहणमा रहेका वा जान लागेका सबैलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

महाशाखाले यो मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र मौसम सम्बन्धी ताजा विवरणहरू नियमित हेर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

असोज ७, २०८३ बुधबार ०८:१७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।