भोटेकोशी बाढी : अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार

भोटेकोशी बाढी : अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार

बाँके : नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा गाउँका अनलाल रोकायका आँखा आजभोलि दिनहुँ बाटोतिरै टोलाइरहन्छन्। आँखामा आँसुका ढिका छन्, मनमा छटपटी र घरभरि सन्नाटा छाएको छ।

भोटेकोशीको बाढीले उनको सिङ्गो संसार नै बगाएर लगेको करिब एक महिना बितिसक्यो। तर, यो एक महिना अनलाल र उनकी श्रीमती कर्णसरीका लागि निकै कष्टकर बनेको छ।

कारण एउटै हो- बाढीमा बेपत्ता भएका आफ्ना प्रियजनको अहिलेसम्म न ‘सास’ भेटिएको छ, न काजकिरिया गर्न ‘लास’ नै!

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत ५३ वर्षीय दाजु शेरसिंह रोकाय र ५६ वर्षीया भाउजू विष्णुमतीलाई भेट्न तथा गोसाइँकुण्डको दर्शन गर्न भन्दै १९ वर्षीय छोरा दीपक घरबाट खुसी-खुसी निस्किएका थिए।

तर, भोटेकोशीमा आएको भीषण बाढीले एकै चिहान बनायो। बुढेसकालको सहारा बन्ने एक्लो छोरा, अनि जीवनका आडभरोसा दाजु-भाउजू एकसाथ बेपत्ता भएपछि रोकाय दम्पतीको गला अवरुद्ध छ।

“सुरु-सुरुमा कतैबाट जीवितै फर्किन्छन् कि भन्ने झिनो आशा थियो, अब त्यो आशा पनि मर्यो,” अनलाल भक्कानिँदै भन्छन्, “सासको आशा त मारिसक्यौँ, तर अन्तिम पटक मुख हेरेर सामाजिक संस्कार गरौँ भन्दा लाससमेत पाइएन। न सास पाइयो, न लास- दोधारमै दिन बितिरहेको छ।”

मृत्यु संस्कार गर्न शव पहिचानका लागि अनलालले नेपालगन्जको भेरी अस्पतालमार्फत ‘डीएनए’ परीक्षणका लागि नमूना पठाएका छन्। तर, काठमाडौंबाट रिपोर्ट आउन ढिलाइ हुँदा थपुवा गाउँको यो परिवार थप पीडामा छ।

“सरकारले आधिकारिक रूपमा मृत वा बेपत्ता घोषणा गरिदिए कुशको भए पनि शव बनाएर संस्कार गर्थ्यौं,” अनलालको माग छ, “हामीलाई आफ्ना मान्छेको आत्माको चीरशान्तिका लागि अन्तिम बिदाइ गर्ने बाटो खोलिदेओस्।”

टुहुरा बालबालिकाको प्रतीक्षा
अनलालको आँगनबाट केही पर पुग्दा अर्को हृदयविदारक दृश्य देखिन्छ।

रोजीरोटीको खोजीमा रसुवा पुगेका आराम दमाई र उनकी पत्नी उजना दमाई पनि सोही बाढीमा परेर बेपत्ता छन्। घरमा १६ वर्षीय छोरा सुभाष, ११ वर्षीय भाइ अश्विन र ९ वर्षीया बहिनी स्मारिका मात्र छन्।

यी तीन कलिला बालबालिका दिनभर मूलढोकामा बसेर बाटो हेरिरहन्छन्- कतै काममा गएका आमाबुबा झोला बोकेर फर्किहाल्छन् कि! कमाइ गरेर घरखर्च र कापीकलम किनिदिने अभिभावक नै गुमाएका उनीहरूलाई अब कसरी बाँच्ने भन्ने चिन्ताले सताएको छ।

एकातिर अभिभावकविहीन हुनुको पीडा, अर्कातिर शवसमेत नपाउँदा आमाबुबाको मृत्यु संस्कार गर्न नपाएको छटपटी। १६ वर्षीय सुभाष भन्छन्, “आमाबुबाको सास छैन भने कम्तीमा लास भए पनि पाइए हुन्थ्यो, हामीले काजकिरिया त गर्न पाउँथ्यौँ।”

नेपालगन्ज-२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाका अनुसार सास वा लास फेला नपर्दा पीडित परिवार चरम मानसिक तनाव र द्विविधामा छन्। उनी बेपत्ताको खोजीलाई तीव्रता दिनुका साथै सहाराविहीन बनेका दमाई दम्पतीका तीन सन्तानको लालनपालन र शिक्षाका लागि पहल भइरहेको बताउँछन्।

आँकडाभित्रको कहालीलाग्दो पीडा
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि बाँकेबाट १६ जना आफन्तको डीएनए नमूना सङ्कलन गरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ भने केहीले चितवन र काठमाडौंबाटै नमूना दिएका छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार बाढीमा परेर बाँकेका २३ जना अझै बेपत्ता छन्। हालसम्म तीन जनाको मात्र शव सनाखत भएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।

असोज ७, २०८३ बुधबार ०८:०२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।