सरकारलाई कांग्रेस सांसदको प्रश्न : हिजो सरकारविरुद्ध लेखेर डलर कमाउँदै भ्रम र आश्वासन बाँड्नेहरूले आज किन जनताका स्टाटस बुझ्ने हिम्मत नराखेको?
काठमाडौं : नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकार नागरिकका प्रश्न र आलोचनाबाट भाग्न खोजेको आरोप लगाएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विश्लेषक भरत दाहाल पक्राउबारे बोल्दै सांसद थपलियाले साइबर कानुनको आडमा वैधानिक आलोचनालाई दबाउने प्रयास भइरहेको आरोप लगाइन्।
उनले भनिन्, "लोकतन्त्र भनेको सरकारको प्रशंसा मात्र सुन्ने व्यवस्था होइन, असहज प्रश्न सहने तागत पनि हो। साइबर कानुनको आडमा वैधानिक आलोचनालाई अपराध बनाउने अधिकार राज्यलाई छैन। हथकडीले हात बाँध्न सकिएला, तर विचार बाँध्न सकिँदैन।"
उनले सत्ता र शक्ति परिवर्तन भए पनि नागरिकको अवस्थामा कुनै सुधार नआएको टिप्पणी समेत गरिन्।
सांसद थपलियाले सत्ता पक्षमाथि व्यङ्ग्य गर्दै भनिन्, “सत्ता, शक्ति र अनुहार सबै परिवर्तन भए, तर आज पनि नागरिकको जनजीवन उस्तै छ। हिजो सरकारविरुद्ध स्टाटस लेखेर डलर कमाउँदै भ्रम र आश्वासन बाँड्नेहरूले आज किन जनताका स्टाटस बुझ्ने हिम्मत नराखेको?”
असोज ६, २०८३ मंगलबार १७:४०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।