संसद्मै भक्कानिँदै रचनाले भनिन् : ‘न्याय पाए सांसद पद त्याग्न तयार’

संसद्मै भक्कानिँदै रचनाले भनिन् : ‘न्याय पाए सांसद पद त्याग्न तयार’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले जेनजी आन्दोलनमा आफ्नो छोरासहितका युवाको बलिदान खेर जान नदिन र सरकारलाई खबरदारी गर्न आफू संसद्मा आएको बताइन्। जेनजी आन्दोलनका सहिदका लागि न्याय माग गर्दै उनी बैठकमा बोल्दाबोल्दै भावुक बनेकी थिइन्। 

जेनजी सहिदकी आमासमेत रहेकी खतिवडाले आफूलाई ‘छोराको लाससँग सांसद पद साटेको’ भनेर गरिएको टिप्पणीप्रति आपत्ति जनाइन्। उनले आफ्नो व्यक्तिगत पीडामाथि राजनीतिक आक्रमण नगर्न आग्रह गरिन्। आफ्नो छोरा शहीद भए पनि अब अन्य आमाका छोराहरूले त्यस्तो अवस्था भोग्न नपरोस् भन्ने उद्देश्यले सरकारलाई खबरदारी गर्न संसद्मा आएको उनको भनाइ थियो। 

उनले जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाए आफूले सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि हिचकिचाहट नगर्ने बताइन्। उनले भनिन्,  "आज पनि कसैले मेरो छोरो जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु।"

सरकारसँग आफ्ना थुप्रै प्रश्न र असहमति रहेको भए पनि आफू जिम्मेवार भएर बोलिरहेको उनले बताइन्। शहीदकी आमाको अपमान हुँदा सरकार मौन बस्न नहुने भन्दै उनले शहीद तथा घाइतेका परिवारको अवस्था सम्बोधन गर्न सरकारसँग आग्रह गरिन्।

उनले भनिन्, "आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर वा पदको लालच थिएन। यो मेरो न्याय खोज्ने यात्रा हो। मेरो कोखमा नौ महिना हुर्किएर, ताते-ताते गर्दै मेरा आँखा सामुन्ने बढेको मेरो मुटुको टुक्रा यति बेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो। एउटा विश्वास र पवित्र यात्रा हो।"

असोज ६, २०८३ मंगलबार १६:१३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।