त्रिपुरेश्वरमा बस जल्दा ज्यान गुमाएका चालकसँग तीन वटा लाइसेन्स, दुई जना सम्पर्कमा आए
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा सोमबार दिउँसो रिद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा गम्भीर घाइते भई ज्यान गुमाएका चालकको साथबाट तीन वटा फरक-फरक सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला परेको छ।
गम्भीर घाइते भएपछि कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भएका ती चालकको वास्तविक पहिचान खुल्न नसकिरहेका बेला उनको साथबाट तीन जनाको लाइसेन्स र नागरिकताका प्रतिलिपि भेटिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मृतक चालकको साथबाट दावा लामा, सुनिल तामाङ र दावा तामाङको नाममा जारी भएका तीन वटा सवारी चालक अनुमति पत्र भेटिएका हुन्।
दुई जना सम्पर्कमा, एक जनाको खोजी हुँदै
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यदल प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश प्रसाद काफ्लेले मृतक चालकको साथबाट तीन जनाको लाइसेन्स फेला परेको पुष्टि गरे।
एसएसपी काफ्लेका अनुसार लाइसेन्स फेला परेका तीन जनामध्ये बागमती-७ ललितपुरका वास्तविक दावा लामा मंगलबार ट्राफिक प्रहरी कार्यालयमा उपस्थित भइसकेका छन्। उनले आफ्नो लाइसेन्स हराएको र मृतकसँग आफ्नो पहिले सामान्य चिनजान मात्र रहेको बताएका छन्। त्यस्तै, अर्का व्यक्ति दावा तामाङ पनि प्रहरीको सम्पर्कमा आएका छन्।
तर, तेस्रो लाइसेन्स फेला परेका काभ्रेका सुनिल तामाङको भने अझै सम्पर्कमा छैनन्। उनको फोन नम्बरमा सम्पर्क हुन नसकेपछि प्रहरी टोली काभ्रेस्थित घरमै पठाइएको छ।
‘तीन जनाको लाइसेन्स भेटिएकोमा दुई जना सम्पर्कमा आइसकेका छन्,’ एसएसपी काफ्लेले भने, ‘काभ्रेका सुनिल तामाङको फोन सम्पर्क नभएकाले उनको अवस्था बुझ्न टोली खटाउँदै छौँ। उनी देशभित्र छन् वा वैदेशिक रोजगारीमा छन् भन्ने पनि बुझ्दै छौँ।’
मृतक चालकको वास्तविक ठेगाना हेटौँडातिर हुन सक्ने प्रारम्भिक सूचना आएको र त्यसलाई प्रमाणीकरण गर्ने काम भइरहेको एसएसपी काफ्लेले जानकारी दिए।
अर्कैको कागजात दुरुपयोग गरेर गाडी चलाएको आशंका
यता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले चालकले अरूकै लाइसेन्स र कागजात दुरुपयोग गरेर सवारी चलाएको देखिएकाले त्यसको अनुसन्धान भइरहेको बताए।
‘सवारी चलाउँदा चालकको साथमा रहेका अनुमति पत्रलगायतका कागजातहरू उहाँको वास्तविक नभई अरूकै भएको पुष्टि भइसकेको छ,’ एसपी सुवेदीले भने, ‘उनले ती कागजातहरू कसरी प्राप्त गर्नुभयो र दुरुपयोग गर्नुभयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। लाइसेन्स वाहकहरूलाई बोलाएर सनाखत गर्ने र उनीहरूको कागजात कसरी त्यहाँ पुग्यो भन्नेबारे बुझ्ने काम जारी छ।’
‘दावा’ भनिएका चालक को हुन्?
सोमबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बागमती प्रदेश ०१-००६ ख ६४४५ नम्बरको बसमा आगलागी हुँदा चालक गाडीभित्रै जलेर गम्भीर घाइते भएका थिए। प्रहरीले उनीसँग फेला परेको लाइसेन्सका आधारमा सुरुमा बागमती गाउँपालिका-७ ललितपुरका २५ वर्षीय ‘दावा लामा’ भएको विवरण सार्वजनिक गरेको थियो।
तर, सोही लाइसेन्समा रहेको नम्बरमा सम्पर्क गर्दा वास्तविक दावा लामा जीवितै भेटिएपछि चालकको पहिचानमा अन्योलता छाएको थियो। वास्तविक दावा लामाले घाइते चालकको नाम ‘अर्जुन’ रहेको र उनीसँग विगतमा चन्द्रागिरि यातायातमा सँगै काम गर्दा चिनजान भएको दाबी गरेका छन्।
आगलागीमा करिब शतप्रतिशत नै जलेका चालकलाई तत्काल कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइए पनि सोमबार राति नै उपचारका क्रममा उनको मृत्यु भएको थियो। अस्पताल पुगेका केही आफन्तले पनि स्पष्ट विवरण नदिएकाले मृतकको वास्तविक नाम र ठेगाना अझै खुल्न सकेको छैन।
यसैबीच, ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर चालक आफैँले बसमा पेट्रोल छर्केर आगो लगाएको भन्ने विषयमा छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ।
असोज ६, २०८३ मंगलबार ११:१४:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।