भोटेकोशी बाढी अपडेट : १४ सय ५१ जनाको शव फेला, ४७ सय १८ अझै बेपत्ता

भोटेकोशी बाढी अपडेट : १४ सय ५१ जनाको शव फेला, ४७ सय १८ अझै बेपत्ता

काठमाडौं : रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ।

बाढीले बगाएर ल्याएका ती शव विभिन्न आठ जिल्लामा भेटिएका हुन्। प्राप्त विवरणअनुसार सबैभन्दा बढी चितवनमा ३६७ शव भेटिएका छन्।

त्यस्तै, रसुवामा २३६, नवलपरासी (पूर्व) मा २३२, नवलपरासी (पश्चिम) मा २२२, नुवाकोटमा २०३, गोरखामा ७९, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेको हो। यसबाहेक उद्धार गरी काठमाडौँ ल्याइएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

फेला परेका शव पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३३ वटा शवको व्यवस्थापन गरिएको छ।

शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३४५ वटा डीएनए नमुना संकलन गरिएको छ। हालसम्म पहिचान खुल्न नसकेका १ हजार ४२४ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, बेपत्ताको खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी परिचालन गरिएको छ। प्रहरीका अनुसार अझै ४ हजार ७१८ जना बेपत्ता छन्, जसको तीव्र रूपमा खोजी भइरहेको छ।

त्यसैगरी, बाढीबाट विस्थापित १ हजार ३४२ जनालाई विभिन्न जिल्लाका ‘होल्डिङ सेन्टर’मा राखिएको छ।

असोज ६, २०८३ मंगलबार ०९:१८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।