प्रतिनिधिसभा र चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं : संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। आजै संसद्अन्तर्गतका विभिन्न चारवटा विषयगत समितिका बैठकहरू पनि बस्दैछन्।
संघीय संसद् सचिवालयका अनुसार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
अर्थ समितिको विहान १० बजे बस्ने बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल हुनेछ। साथै, उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग समेत छलफल गरिनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान १० बजे बस्ने बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल हुने कार्यसूची छ।
यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान सवा ११ बजे बस्ने बैठकमा नेपालमा स्वदेशी, वैदेशिक, निजी तथा सार्वजनिक लगानीको वर्तमान अवस्थाबारे छलफल हुनेछ।
साथै, लगानीको वातावरणमा जलवायु परिवर्तनले पारेको प्रभाव, लगानी सम्मेलनको व्यवस्थापन र आवश्यक नीतिगत तथा कानुनी सुधारका विषयमा विमर्श गरिनेछ।
यसका अलावा साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय ‘पुस्तकालय नीति’ को मस्यौदाका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग आवश्यक छलफल गरिनेछ।
असोज ६, २०८३ मंगलबार ०७:२९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।