त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको हो।
उपचारमा संलग्न कीर्तिपुर अस्पतालका एक चिकित्सकले बस चालकको राति नै मृत्यु भएको पुष्टि गरे।
ती चिकित्सकले भने, ‘उहाँको शरीर करिब शत प्रतिशत नै जलेको थियो। अस्पताल ल्याउँदा नै अवस्था निकै नाजुक थियो, उहाँको राति नै उपचारका क्रममा मृत्यु (एक्सपायर) भयो।’
सोमबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ऋद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो। आगोको लपेटामा परेर चालक लामा गाडीभित्रै गम्भीर घाइते भएका थिए।
उक्त चालक २५ वर्षीय दावा लामा रहेको प्रहरीले जनाएको छ।
तर, उकेरालाई हात परेको लाइसेन्सको नम्बरमा फोन गर्दा दावा लामा आफू रहेको र सोमबार आगलागीमा परेको चालकको नाम अर्जुन भएको आफूलाई दावा लामा दाबी गर्ने उनको दाबी छ।
आफूलाई दावा लामा बताउने ती व्यक्तिले आफ्नो लाइसेन्स लगायतका कागजात हराएको उकेरासँगको कुराकानीमा बताएका छन्। प्रहरीले यसबारेमा पनि अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।
घटनालगत्तै उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयले लामालाई अचेत अवस्थामा गाडीबाट निकालेर तत्कालै कीर्तिपुर अस्पताल पुर्याएका थिए। उद्धार गर्दा उनी बोल्न सक्ने अवस्थामा थिएनन्।
यसैबीच, ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित बनेर चालक लामा आफैँले बसमा आगो लगाएको भन्नेबारे छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले समिति समेत गठन गरेको छ।
असोज ६, २०८३ मंगलबार ०७:१५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।