शुक्रबारदेखि सोमबारसम्म मौसम बिग्रिने, सतर्कता अपनाउन आग्रह

शुक्रबारदेखि सोमबारसम्म मौसम बिग्रिने, सतर्कता अपनाउन आग्रह

काठमाडौं : आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार जारी गरेको विशेष मौसम ‘बुलेटिन’अनुसार शुक्रबारदेखि असोज ११ गते सोमबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि अतिभारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारीदेखि अतिभारी वर्षा र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

महाशाखाका अनुसार हाल बङ्गालको खाडीको मध्य भू-भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रमा परिणत भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ। यसको प्रभाव बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान गरिएको छ।

महाशाखाले ठूला तथा साना नदी नाला र खोलानालामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

विशेषगरी हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने भएकाले हिमाली पदयात्रा तथा पर्वतारोहणमा जानेले सम्बन्धित क्षेत्रको मौसमबारे जानकारी लिएर उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

असोज ५, २०८३ सोमबार २२:२६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।