भोटेकोशी बाढी : क्षति र पुनर्निर्माणका लागि करिब ४.७७ अर्ब डलर लाग्ने अनुमान
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, पुनःस्थापना तथा दिगो पुनर्निर्माणका लागि करिब ४.७७ अर्ब अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
संसदीय कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो तथ्यांक पेस गरेको हो।
उनले भने, "हाम्रो टोटल लसको हिसाबले र टोटल अब हामीले कति चाहिँ लाग्छ त हाम्रो अनुमानित यो पुनर्निर्माणको लागि भन्ने किसिमले पनि हामीले नियरली त्यहाँ स्टिमेट गरेका छौँ। जसमा चाहिँ अब ४.७७ बिलियन अमेरिकी डलर बराबरको रकम आवश्यक पर्छ भन्ने हामीले बनाएका छौँ भने क्षतिको हिसाबले चाहिँ अब त्यहाँ कति हानि र कति नोक्सानी भन्ने फिगर पनि त्यहाँ राखेका छौँ।"
सरकारले प्राविधिक टोलीमार्फत ड्रोन तथा अत्याधुनिक प्रविधि प्रयोग गरी १५ दिनभित्र तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आँकलन’ (आरडीएनए) प्रतिवेदनका आधारमा पुनर्निर्माणको यो अनुमानित लागत तय गरिएको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए।
संसदीय समितिमा प्रस्तुत विवरणअनुसार बाढीका कारण हालसम्म एक हजार ४५१ जनाको मृत्यु भइसकेको छ भने पाँच हजार ७८६ जना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा ६३६ जना विदेशी नागरिक समेत रहेका छन्।
कुल मृतकमध्ये ३३६ महिला र ५७९ पुरुष रहेका छन् भने ५३० जनाको पहिचान डीएनए परीक्षणमार्फत गरिएको छ। पहिचानका लागि एक हजार ९९७ जना आफन्तले आफ्नो डीएनए नमुना उपलब्ध गराएका थिए।
बाढीपछि २० हजार ९२९ जना सुरक्षाकर्मी परिचालन गरी हालसम्म १३ हजार ७ सय ८४ जनाको सकुशल उद्धार गरिएको छ।
बाढीपछि प्रभावितलाई राख्न ३७ वटा होल्डिङ सेन्टर स्थापना गरिएकोमा अहिले उक्त संख्या घटेर २० मा झरेको छ। आइतबारसम्म एक हजार ६६१ जना होल्डिङ सेन्टरमा रहेका थिए । तीमध्ये नुवाकोटमा ३२४, रसुवामा ७८६ र धादिङमा १२१ जना रहेको उप्रेतीले बताए ।
सरकारले प्रभावित परिवारलाई घरभाडाका लागि मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेपछि धेरै प्रभावित परिवार भाडाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घटेको उनले बताए। चार जनासम्मको परिवारलाई १५ हजार र थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
बाढीपछि खोज, उद्धार तथा राहतका लागि २० हजार ९२९ सुरक्षाकर्मी परिचालन गरिएको पनि उप्रेतीले जानकारी दिए।
बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. उप्रेतीले नेपालमा जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरूको जोखिम तीव्र रूपमा बढिरहेको बताए। नेपालले राष्ट्रिय अनुकूलन योजना, एनडीसी र विपद् जोखिम न्यूनीकरण रणनीतिहरू कार्यान्वयन गरिरहेको भए पनि भोटेकोशी जस्ता ठूला र अप्रत्यासित विपद्को सामना गर्न थप प्रविधि, नवप्रवर्तन र पूर्वतयारी आवश्यक रहेकोमा उनले जोड दिए।
असोज ५, २०८३ सोमबार १७:५६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।