हवाई भाडा वृद्धिप्रति रास्वपा सांसद अवस्थीको व्यंग्य : ‘कृपया सिटको पेटी कस्नुहोला, किनकि जहाजभन्दा छिटो हवाई भाडा माथि उठिरहेको छ’

हवाई भाडा वृद्धिप्रति रास्वपा सांसद अवस्थीको व्यंग्य : ‘कृपया सिटको पेटी कस्नुहोला, किनकि जहाजभन्दा छिटो हवाई भाडा माथि उठिरहेको छ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालको आन्तरिक हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अवस्थीले चाडपर्व तथा बाढीपहिरोजस्ता विपद्का समयमा सर्वसाधारणबाट मनोमानी भाडा असुलिने गरेको भन्दै ध्यानाकर्षण गराइन्।

अवस्थीले व्यंग्यात्मक शैलीमा भनिन्, “नेपालको आन्तरिक उडानमा यहाँहरूलाई स्वागत छ। कृपया सिटको पेटी कस्नुहोला, किनकि जहाजभन्दा छिटो हवाई भाडा माथि उठिरहेको छ।”

बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा तथा दशैंजस्ता चाडपर्वका समयमा हवाई भाडा बढ्ने गरेको उल्लेख गर्दै उनले एयरलाइन्स कम्पनीहरूले यसलाई ‘डिमान्ड एन्ड सप्लाई’ भने पनि नागरिकले त्यसलाई ‘बाध्यताको मूल्य’का रूपमा बुझ्ने बताइन्।

उनले काठमाडौंबाट भारतको दिल्ली जानभन्दा आफ्नै देशको सुदूरपश्चिम पुग्न महँगो पर्ने विरोधाभासपूर्ण अवस्था रहेको बताइन्। “दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो अवस्था छ। दिल्लीभन्दा सुदूरपश्चिमलाई सस्तो बनाइयोस्,” उनले भनिन्।

उनले एयरलाइन्स कम्पनीहरूलाई नागरिकको बाध्यताबाट असीमित नाफा नकमाउन र चाडपर्वका बेला सर्वसाधारणलाई सहज हुने गरी भाडा दर निर्धारण गर्न आग्रह गरिन्।

सांसद अवस्थीले सुदूरपश्चिमलाई भौगोलिक रूपमा ‘दूर’ नभई सहज पहुँच भएको क्षेत्रका रूपमा विकास गर्न र सर्वसाधारणलाई सहज रूपमा घर फर्किने वातावरण मिलाउन सरकारसँग माग गरेकी छन्।

असोज ५, २०८३ सोमबार १४:३३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।