रास्वपा सांसदको प्रश्न - एउटै आन्दोलनमा निधन भएकाहरु सहिद र बाँचेकाहरु अपराधी कसरी हुन सक्छन्?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले जेनजी आन्दोलनका घाइते तथा मुद्दा खेपिरहेका युवाले न्याय नपाएको भन्दै आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाठकले झापामा प्रहरीको गोली लागेर गोपाल सेढाई र दिनेश राजवंशीको ज्यान गएको र १०८ जना घाइते भएको स्मरण गराउँदै आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद मान्ने तर बाँचेर मुद्दा खेपिरहेकाहरूलाई अपराधी झैँ व्यवहार गर्ने सरकारी नीतिको विरोध गरे।
उनले भने, "एउटै आन्दोलनमा निधन भएकाहरु सहिद र बाँचेकाहरु अपराधी कसरी हुन सक्छन्? जेनजी आन्दोलनलाई राजनैतिक आन्दोलनका रुपमा स्वीकार गरेर घाइते तथा मुद्दा लागेका युवाहरुलाई ढाडस दिन सरकार किन सकिरहेको छैन?"
१०८ जना घाइतेमध्ये हालसम्म ४३ जनाले मात्रै परिचयपत्र पाएको उल्लेख गर्दै उनले पेटमा गोली लागेका र गम्भीर घाइते भएका युवाहरू ६ दिनदेखि झापामा आमरण अनशनमा बस्न बाध्य भएको बताए। घाइतेहरू उपचार, क्षतिपूर्ति, परिचयपत्र र निःशुल्क शिक्षालगायतका माग राखेर अनशनमा बस्दा पनि सरकार गम्भीर नभएको उनको आरोप थियो।
उनले भने, "जेनजी आन्दोलनका घाइतेहरुले उपचार, क्षतिपूर्ति र दिर्घकालिन व्यवस्थापनको माग राख्दै ६ दिनदेखी झापामा अनशन सुरु गरेका छन्। पेटमा गोली लागेका तथा आन्दोलनमा गम्भिर घाइते भएका जेनजी युवाहरु परिचय पत्रको व्यवस्था र निशुल्क शिक्षा लगायत माग राखी आमरण अनशनमा बसेका हुन्।"
जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै घाइते तथा मुद्दा खेपिरहेका युवालाई सरकारले आवश्यक सहयोग र ढाडस दिनुपर्नेमा उनले जोड दिए। सांसद पाठकले आन्दोलनका घाइते र मुद्दा खेपेका युवाहरूले कहिले र कसरी न्याय पाउँछन् भन्नेबारे संसद्मार्फत सरकारसँग जवाफ माग गरेका छन्।
असोज ५, २०८३ सोमबार १४:०३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।