कीर्तिपुर अस्पतालका चिकित्सक भन्छन्- ‘बस चालकको शरीर करिब शत प्रतिशत जलेको छ’
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सोमबार मध्याह्न भएको बस आगलागीमा परी घाइते भएका चालकको शरीर करिब शत प्रतिशत जलेको छ।
उपचारमा संलग्न कीर्तिपुर अस्पताल (बर्न अस्पताल) का एक चिकित्सकका अनुसार आगोमा जलेका चालकको शरीर करिब शत प्रतिशत नै जलेको हो।
दिउँसो साढे १ बजे उकेरासँग कुरा गर्दै ती चिकित्सकले भने, ‘उहाँको शरीर करिब शत प्रतिशत नै जलेको छ।’
घाइते चालकलाई दिउँसो करिब १ बजेतिर अस्पताल पुर्याइएको र अहिले आकस्मिक कक्षमा उपचारको प्रक्रिया जारी रहेको ती चिकित्सकले जानकारी दिए।
घाइते हुने चालक २५ वर्षीय दावा लामा हुन्। सोमबार मध्याह्न त्रिपुरेश्वर सडकमा गुडिरहेको रिद्धिसिद्धि यातायातको बसमा अचानक भीषण आगलागी भएको थियो।
घटनालगत्तै सुरक्षाकर्मीले लामालाई गाडीभित्रबाट निकालेर तत्काल कीर्तिपुर अस्पताल (बर्न अस्पताल) पुर्याएका थिए। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गाडीबाट बाहिर निकाल्दा चालक लामा बोल्न सक्ने अवस्थामा थिएनन्।
‘एक्कासी गाडीमा आगो लागेको देखिन्छ। चालकलाई भित्रबाट निकालेर तत्कालै अस्पताल पुर्याएका हौँ। बाहिर निकाल्दा उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो। घटनाबारे हामी थप अनुसन्धान गरिरहेका छौँ’, सुवेदीले भने।
बसमा लागेको भीषण आगोको लपेटाले सडक छेउका बिजुली र इन्टरनेटका तारहरूमा समेत क्षति पुर्याएको थियो। प्रत्यक्षदर्शीका अनुसार आगलागी भएको करिब २० मिनेटपछि मात्र घटनास्थलमा दमकल पुगेको थियो।
दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो निभाइएको भए पनि घटनाका कारण त्रिपुरेश्वर सडक खण्डमा केही समय सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो।
असोज ५, २०८३ सोमबार १३:४२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।