पर्सामा हवाइ फायर गरी ३० केजी गाँजासहित ३ जना पक्राउ

पर्सामा हवाइ फायर गरी ३० केजी गाँजासहित ३ जना पक्राउ

काठमाडौं : पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले दुई राउण्ड हवाइ फायर गरी ३० किलोग्राम लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा आइतबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पटेर्वासुगौली गाउँपालिका-१ मलाही टोलमा गाँजा ओसारपसार भइरहेको अवस्थामा उनीहरूलाई फेला पारेको हो।  

प्रहरी टोलीलाई देख्नासाथ गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भाग्न खोजेपछि प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाइ फायर गरी ​​​​​​ पटेर्वासुगौली गाउँपालिका-१ का ५० वर्षीय महेश सहनी र सोही ठाउँका ३४ वर्षीय नन्दलाल सहनीलाई नियन्त्रणमा लिएको थियो। 

उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा सोही वडाका ७५ वर्षीय भुटी भन्ने भुरी चौधरी समेत गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ।  

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिएका छन्।

असोज ५, २०८३ सोमबार १२:४३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।