सशस्त्रका सईलाई गाडीले किचेर मारेको घटनाका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

सशस्त्रका सईलाई गाडीले किचेर मारेको घटनाका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

सिरहा : मदिरा तस्करी रोक्न खोज्दा गाडीले किचेर सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको हत्या गरेको घटनाका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ परेका छन्।

सीमा क्षेत्रमा भएको दोहोरो गोली हानाहानपछि प्रहरीले मुख्य अभियुक्त भारतीय नागरिक ३७ वर्षीय मोहम्मद कुरवान मन्सूरीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय, महेशपुर पतारीको टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका-१ कचनारीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

नियन्त्रणमा लिने क्रममा भाग्न खोज्दै अभियुक्त समूहले प्रहरीमाथि एक राउन्ड गोली चलाएको थियो। प्रहरीले आत्मरक्षाका लागि जवाफी कारबाहीमा तीन राउन्ड गोली चलाउँदा मन्सूरी घाइते भएका छन्।

बायाँ हातको कुहिनो र दाहिने कोखामा गोली लागेका मन्सूरीको हाल प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ। उनी भारत, बिहारको मधुवनी जिल्ला ललबनियाँ थानाअन्तर्गत घोडमोहना गाउँका बासिन्दा हुन्।

यसरी भएको थियो घटना
वि.सं. २०८१ मंसिर १६ गते बिहान करिब ३ बजे भारतबाट नेपालतर्फ अवैध मदिरा तस्करी भइरहेको सूचना पाएपछि बीओपी बडहरी (बरियारपट्टी) बाट सई लक्ष्मणप्रसाद यादवको नेतृत्वमा टोली कचनारी सीमामा खटिएको थियो।

गस्ती टोलीले शङ्कास्पद अवस्थामा आइरहेको ‘डीएल ५ सीजे ७१७१’ नम्बरको भारतीय सफारी जीपलाई रोक्न खोजेको थियो। तर चालकले रोक्नुको साटो ड्युटीमा खटिएका सई यादवलाई नै गाडीले किचेर फरार भएका थिए।

गम्भीर घाइते यादवको उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीका अनुसार पक्राउ परेका मन्सूरी नै सई यादवलाई किच्ने गाडीका धनी तथा मुख्य योजनाकार हुन्।

असोज ५, २०८३ सोमबार १२:२०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।