‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना नपत्याउँदा त्रिशूली किनारमा धेरै मानवीय क्षति
त्रिशूली : बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१, ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा निस्कने तयारीमा थिए।
त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भएकाले नदीमा जतिसुकै ठूलो बाढी आए पनि आफ्नो घरसम्म असर पुग्ला भन्ने उनलाई लागेकै थिएन। त्यसैले भदौ १० गते बिहानै ‘बाढी आउँदैछ’ भन्ने सूचना पाए पनि उनले सम्भावित विपत्तिको अनुमान नै गर्न सकेनन्।
घरबाट निस्कनै लाग्दा प्रहरीले माइकिङ गर्दै भन्यो, “भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरेमा ठूलो क्षति पुर्याएको छ। बाढी तीव्र गतिमा अघि बढिरहेको छ। तपाईंहरू सबै सुरक्षित स्थानतर्फ लाग्नुहोस्, ढुङ्गे चोकभन्दा माथि जानुहोला।”
माइकिङ गरिरहेका प्रहरी हवल्दार अर्जुन न्यौपानेलाई चिनेका प्याकुरेलले नजिकै गएर सोधे, “बाढी धेरै ठूलो हो र ?” जवाफ आयो, “हो, धेरै ठूलो छ।”
‘धेरै ठूलो’ भनिए पनि अवस्था त्यति भयावह होला जस्तो उनलाई अझै लागेको थिएन।
“नातिनी विद्यालय जाने बेला भएको थियो, अब सबै जना सँगै निस्कनुपर्ला भन्ने लाग्यो”, प्याकुरेलले भने। तर, परिवारका सदस्यसँगै निस्कने तयारी गर्दै गर्दा केही मिनेटमै त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढ्यो र उनले घरलाई चारैतिरबाट घेर्यो। हेर्दाहेर्दै ढुङ्गेबजार र आसपासका बस्ती बाढीको भेलमा परिणत भए।
घरमै फसेका प्याकुरेलसहित परिवारका पाँच र एक छिमेकी गरी छ जनालाई स्थानीयको सहयोगमा सुरक्षाकर्मीले मुस्किलले उद्धार गरे। बाढीको भेलबीच ज्यान जोगाउन सफल उनको घर अहिले त्यस क्षेत्रमा ‘हरियो भाइरल घर’का रूपमा परिचित छ।
“सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वासै लागेन। बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै पाइएन”, उनले भने।
बाढी हेर्न जाँदा आफैँ भेलमा
विदुर-१०, वेत्रावतीका शशि डङ्गोलले पनि टिमुरेमा बाढीले क्षति पुर्याएको केही समयमै साथीहरूमार्फत सूचना पाइसकेका थियो। लगत्तै वेत्रावती प्रहरी चौकीबाट समेत माइकिङ भयो, “धेरै ठूलो बाढी आउँदैछ, सुरक्षित स्थानमा जानुहोस्।”
चित्रकलामा छुट्टै पहिचान बनाएका डङ्गोल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनले वेत्रावती बजारका स्थानीयलाई पसल तथा व्यवसाय बन्द गरी सुरक्षित स्थानमा जान आग्रह गरे। तर, अरूलाई सुरक्षित हुन आग्रह गरिरहेका उनी स्वयं भने बाढीको अवस्था हेर्न नदी किनारतर्फ लागे।
नदीतर्फ पुग्न नपाउँदै चारैतिरबाट आएको भेलले उनलाई घेर्यो। “बाढी हेर्न जाँदै थिएँ, एक्कासी चारैतिरबाट आएको भेलले छोप्यो। केही सेकेन्डको अन्तरले मात्र ज्यान बच्यो”, डङ्गोलले भने।
बाढीमा परेर उनको खुट्टाको मांसपेशी च्यातिएको छ। तर, शारीरिक चोटभन्दा आफ्नै आँखाअगाडि साथीभाइ र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उनलाई गहिरो पीडा दिएको छ।
“आँखैअगाडि आफ्ना साथी र छिमेकीलाई त्रिशूलीले बगाएर लग्यो, त्यो दृश्य जीवनमा कहिल्यै बिर्सन सक्दिनँ,” भावुक हुँदै उनले भने, “ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर यति विघ्न ठूलो होला भन्ने कल्पना नै थिएन।”
अरूलाई खबर गर्न दौडिँदा आफ्नै परिवार गुमाए
रसुवाको उत्तरगया गाउँपालिका-१, तिरुकाका कर्मा तामाङको पीडा भने अझै विदारक छ। गोरखा भूकम्पले विस्थापित बनाएपछि उहाँ पछिल्लो १० वर्षदेखि उत्तरगया-५ स्थित त्रिशूली किनारको खाल्डेमा बस्दै आएका थिए।
भदौ १० गते टिमुरेबाट बाढी अघि बढेको खबर पाएपछि उनी खाल्डे र नजिकैको सातबिसेमा बस्ने साढे दुई सयभन्दा बढी परिवारलाई खबर पुर्याउन दौडिए। तर, सूचना फैलाउन थालेको १० मिनेट नबित्दै बाढी बस्तीमा पसिहाल्यो।
भागेर उनले आफ्नो ज्यान त बचाउनुभयो, तर घरमा रहेका बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्य सधैँका लागि गुमाए। उक्त बस्तीका १०० भन्दा बढी मानिस अझै बेपत्ता छन्।
“ठूलो बाढी आउँदैछ भन्ने त थाहा थियो। २०८२ सालमा जत्रै होला, आउन अलि बेर लाग्ला भन्ने लाग्यो। तर सास फेर्न नपाउँदै छोपिहाल्यो”, तामाङले भक्कानिँदै भन्छन्।
सूचना पुग्यो, तर जोखिमको आकार बुझिएन
भदौ १० गतेको बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा अत्यन्त तीव्र गतिमा फैलिएको थियो। टिमुरेबाट बाढी चलेको सूचना त्रिशूली किनारका बासिन्दासम्म बेलैमा पुगे पनि त्यसले पुर्याउने क्षतिको आकार उनीहरूको कल्पनाभन्दा धेरै गुणा ठूलो थियो।
विदुर-१, ढुङ्गेका विष्णु श्रेष्ठका अनुसार, हजुरबुबाले २०१८ सालतिर त्रिशूलीमा ठूलो बाढी आएको कथा सुनाउने गर्नुहुन्थ्यो। तर त्यसबेला मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य मात्रै रहेको उनको स्मरण छ।
“हजुरबुबाले २०१८ सालमा ठूलो बाढी आएको सुनाउनुहुन्थ्यो। अहिले त त्रिशूली नदीबाट करिब ३०० मिटर पर र झन्डै १०० मिटर उचाइमा रहेको मेरो चार रोपनी धानखेतलाई नै बाढीले बगर बनाइदियो”, श्रेष्ठले भने।
टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटलगायत नदी आसपासका दर्जनौँ बस्ती बाढीले निमेषभरमै सखाप पार्यो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी बाढीको सूचना प्रवाह भए पनि स्थानीयलाई त्यसको गम्भीरता बुझाउनु नै मुख्य चुनौती बनेको बताउँछन्।
“सफा मौसम र घाम लागिरहेको बेला ‘ठूलो बाढी आउँदैछ’ भनेर प्रवाह गरिएको सूचनालाई धेरैले पत्याउनै सकेनन्,” प्रजिअ रेग्मीले भने, “विपद्मा सूचना कति छिटो पुग्यो भन्ने मात्र होइन, त्यसको गम्भीरता कति बुझियो भन्ने कुरा झनै महत्त्वपूर्ण हुँदो रहेछ।”
सम्पादनसहित प्रकाशित गरिएको राससको सामग्री
असोज ५, २०८३ सोमबार ०८:२७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।