कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। यसैको प्रभावस्वरूप आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। साथै, उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको छ।
अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली (बादल लागेको) छ। उता, कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधारणतया बदली रहनेछ भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै, मधेश, कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका साथै देशका तराई भूभागमा आंशिक बदली रहनेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
साथै, मधेश, कोशी र बागमती प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
असोज ५, २०८३ सोमबार ०७:०८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।