अर्थमन्त्री वाग्लेको भारत भ्रमण उपलब्धिपूर्ण, झण्डाको विषय सामान्य प्राविधिक पाटो मात्र : रास्वपा

अर्थमन्त्री वाग्लेको भारत भ्रमण उपलब्धिपूर्ण, झण्डाको विषय सामान्य प्राविधिक पाटो मात्र : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालै सम्पन्न भारत भ्रमण अत्यन्तै उपलब्धिपूर्ण र सफल रहेको जनाएको छ।

आइतबार पार्टी सचिवालय बैठकपछि रास्वपा प्रवक्ता जगदिश खरेलले अर्थमन्त्री वाग्लेले भारत भ्रमणबारे पार्टीलाई ब्रिफिङ गरेको जानकारी दिँदै भारत भ्रमणबाट दुई देशबीचको आर्थिक साझेदारी र सम्बन्धमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए।

अर्थमन्त्री वाग्लेको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा प्रयोग नभएको र भारतीय झण्डा मात्रै देखिएको भनी बाहिर आएका चर्चाबारे उठेका प्रश्नहरूको स्पष्टीकरण दिँदै प्रवक्ता खरेलले त्यसलाई सामान्य प्राविधिक विषय भएको बताए।

उनले भने, "जहाँ भारतको झण्डा मात्रै देखिएको भनिएको छ, त्यो भारतीय वृत्त मन्त्रीको कार्यकक्षमा भएको अनौपचारिक भेटको समयको फोटो हो। त्यहाँ दुईपक्षीय डेलिगेट्सको औपचारिक वार्ता भएको थिएन।"

उनले दुई देशबीचको औपचारिक द्विपक्षीय भेटवार्ता र प्रतिनिधिमण्डलबीचको छलफलमा नेपाल र भारत दुवै देशका राष्ट्रिय झण्डा राखिएको स्पष्ट पारे।

उनले भने, "दुवै तर्फको प्रतिनिधिमण्डल (डेलिगेट्स) सहितको औपचारिक द्विपक्षीय संवादमा प्रशस्त मात्रामा डिजिटल डिस्प्लेदेखि टेबलसम्म दुवै देशका झण्डा छन्। अर्थमन्त्री डा. वाग्ले बस्नुभएको ठाउँमा नेपालको र भारतीय मन्त्री बस्नुभएको ठाउँमा भारतको झण्डा छ। झण्डा एउटा प्राविधिक कुरा हो। तर त्योभन्दा महत्वपूर्ण कुरा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको उपलब्धी के हो भन्ने हो। भ्रमण निकै उपलब्धिपूर्ण रह्यो।"

असोज ४, २०८३ आइतबार १८:१०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।