देवानगञ्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

देवानगञ्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी : सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ।

देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको आज शल्यक्रिया गरी गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए।

यादवको कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेको छ। उनी हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि गोली प्रहारबाट घाइते भएका थिए। घटनापछि प्रहरीले देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको थियो। उक्त  घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी खड्काले बताए।

युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवादबाट उत्पन्न रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

असोज ४, २०८३ आइतबार १७:०४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।