राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ
काठमाडौं : राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई प्रहरीले आइतबार बिहान मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ।
विद्युतीय कारोबार (साइबर अपराध)सम्बन्धी विषयमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले दाहाललाई पक्राउ गरिएको पुष्टि गरे। अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि उनलाई काठमाडौं पठाउने तयारी भइरहेको कटवालले जानकारी दिए।
राजनीतिक छलफलका सिलसिलामा असोज २ गते मोरङ आएका दाहाल निर्धारित कार्यक्रम सकेर आइतबार काठमाडौं फर्कने तयारीमा थिए।
सोही क्रममा सुन्दरहरैंचा-८ सलकपुरस्थित एक चिया पसलमा बसिरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो। राज्य संयन्त्रका कमीकमजोरीविरुद्ध दाहालले निरन्तर सशक्त आवाज उठाउँदै आएका थिए।
असोज ४, २०८३ आइतबार १२:४०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।