त्रिशूली-१ को सुरुङबाट निकालिएका शव सनाखतका लागि आउन परिवारजनलाई प्रहरीको आग्रह
काठमाडौं : रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित २१६ मेगावाट क्षमताको त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएका २४ जनाको शव सनाखतका लागि नुवाकोट ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले शनिबार एक प्रेस विज्ञप्ति जारी गरेर मृतकका परिवार तथा आफन्तजनलाई शव सनाखतका लागि आग्रह गरेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा खटेको टोलीले असोज १ र २ गते २४ वटा शव निकालेको थियो।
असोज ३ गते ती शवहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत लिफ्ट गरी नुवाकोटको विदुर नगरपालिका-६ स्थित केन्द्रीय कारागार कार्यालय खम्बाक्याम्पको परिसरमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इकबाल हवारीले पहिचान हुन बाँकी रहेका शवहरूको सनाखतका लागि सहयोग गरिदिन परिवार तथा आफन्तहरूलाई आग्रह गरे। सनाखत तथा आवश्यक समन्वयका लागि प्रहरी निरीक्षक आशिष साहलाई सम्पर्क अधिकृत तोकिएको छ।
असोज ४, २०८३ आइतबार १०:३९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।