राज्यको खोजी कुर्दाकुर्दै सास भेटिने आशा मरेपछि कुशको शव बनाएर १० जनाको सामूहिक दाहसंस्कार
जुम्ला : रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पाका १० जना कामदारको अवस्था तीन सातासम्म पनि अज्ञात रहेपछि कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको छ।
गत भदौ १० गते आएको बाढीपछि रसुवाको टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि र जीवित भेटिने आशा समाप्त भएपछि परिवारजनले शनिबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।
राज्य संयन्त्रबाट भएको खोजी र उद्धारको भरपर्दो नतिजा नआएपछि परिवारजन अन्तिम संस्कारको निर्णयमा पुगेको स्थानीय युवा अगुवा रमन बुढाले बताए। "हामीले हाम्रा मान्छे खोजिदिन पटक पटक आग्रह गर्यौं। तर न सासको खबर आयो, न लास," उनले भने, "अन्ततः कुशको शव बनाएर संस्कार गर्न बाध्य भयौं।"
जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार रसुवा बाढीमा परेर जुम्लाका मात्रै ६३ जना अझै बेपत्ता छन्। जसमध्ये पातारासी गाउँपालिकाका मात्रै ४९ जना रहेका छन्। आफ्ना नागरिक बेपत्ता भएको तीन साता बित्दा पनि राज्यले उनीहरू कहाँ छन् भनेर जवाफ परिवारलाई दिन सकेको छैन।
बेपत्ता आफन्त जीवित छन् वा छैनन् भन्नेबारे राज्य संयन्त्रबाट यकिन जानकारी नपाएपछि लामो प्रतीक्षापछि परिवारजन अन्तिम संस्कार गर्न बाध्य भएका हुन्। घटनायता खोजी र उद्धारको आशामा बसेका परिवारले न त आफन्तको अवस्थाबारे कुनै सूचना पाए, न शव नै फेला पर्यो। एउटै गाउँका १० जना बेपत्ता आफन्तको भरपर्दो खोजी र यथार्थ जानकारी दिन नसक्दा राज्यको विपद् व्यवस्थापन तथा जबाफदेहितामाथि परिवारजन र स्थानीयले प्रश्न उठाएका छन्।
असोज ४, २०८३ आइतबार ०८:३९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।