कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका तीन हजार ३९६ वडामा नयाँ नेतृत्व चयन
काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत शनिबार ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचनका प्रक्रिया सम्पन्न भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले असोज १६ देखि १९ गतेसम्म तय भएको महाधिवेशनको कार्यतालिका अनुसार शनिबार ४३ जिल्लाका वडाहरूमा नयाँ कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको जानकारी दिए।
उनका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर र काठमाडौंमा वडा अधिवेशन सम्पन्न भएको छ।
यसैगरी गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीसहित ४३ जिल्लामा निर्वाचन प्रक्रिया पूरा भएको उनले जानकारी दिए।
कटुवालका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङबाहेक अन्य बाँकी ३१ जिल्लामा भने पूर्वप्रकाशित कार्यतालिकाबमोजिम नै आइतबार नयाँ वडा कार्यसमिति चयन हुनेछन्।
असोज ३, २०८३ शनिबार २१:०१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।