पदमोहले कम्युनिष्टहरु कमजोर बनेको रावलको भनाई, नेतृत्व हस्तान्तरण गर्न नेताहरूलाई आग्रह

पदमोहले कम्युनिष्टहरु कमजोर बनेको रावलको भनाई, नेतृत्व हस्तान्तरण गर्न नेताहरूलाई आग्रह

बुटवल : नेपाली कम्यूनिष्ट पार्टीका नेता डा. भीम रावलले नेतृत्वको पदमोह र कम्यूनिष्ट आचरण नभएकाले कम्यूनिष्टहरु कमजोर अवस्थामा आइपुगेको बताएका छन्।

उनले गत वर्षको जेनजी आन्दोलनपछि नेपालका कम्यूनिष्ट पार्टीहरू निकै कमजोर अवस्थामा पुगेकाले अब नेतृत्वमा रहेकाहरूले ससम्मान बिदाइ भएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए।

शनिबार बुटवलमा पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित एक विचार गोष्ठीमा उनले मुलुक गम्भीर संकटमा गुज्रिएकाले अब शीर्ष भनिएका नेताहरूले विगतको गल्ती सच्चाउँदै कम्यूनिष्ट आन्दोलन जोगाउनुपर्ने बताए।

"मानिस कति चोटि प्रधानमन्त्री भएपछि, कति पटक अध्यक्ष र कति पैसा भएपछि सन्तुष्ट हुन्छ," उनले भने, "वैचारिक र संगठनात्मक रूपमा नेताहरू तपाईंहरूको योगदान, त्याग देखियो, अब ससम्मान बिदाइ हुनुस् भनेर भन्नुपर्छ।"

देश र जनता धरासायी भएर अस्तित्व नै संकटमा पर्दा पनि म र मेरो पद भनेर अर्कालाई चुप लगाउने काम भइरहेको उनको भनाइ छ। विगतमा बनेको नेकपा र त्यसपछि बनेको सरकारपछि नेतृत्वले गरेको अकर्मण्यका कारण कम्यूनिष्ट पार्टीहरूप्रति जनताको समर्थन घटेको उनले बताए। 

उनले सुकुम्बासी, मजदुर र किसानका आवाज मुखरित गर्नुपर्नेमा जोड दिए। "आज जनताले आफ्ना वास्तविक मुद्दा, आवाज र अवस्था सुधार्ने राजनीतिक शक्ति खोजेको छ," रावलले भने, "अहिलेको सरकारले गरेका जनविरोधी र राष्ट्रघाती कामको भण्डाफोर गर्नुपर्ने बेला आएको छ। राष्ट्रिय अखण्डता र भौगोलिक रक्षाका लागि वामपन्थी शक्तिहरू उठ्नुपर्ने बेला आएको छ।"

अहिले नेपालको राष्ट्रियता, स्वाधीनता खतरामा रहेको धारणा राखे। प्रधानमन्त्री वालेन्द्र शाहले सार्वभौम संसद्मा उभिएर नेपालले भारतको सीमा मिचेको छ भनेर अभिव्यक्ति दिनु, मुस्ताङको यूरोनियम अमेरिका र अष्ट्रेलियामा डाटा सेन्टरका स्थापनाको नाममा बुझाउने जस्ता सम्झौता हुनुले गम्भीर खतरा उत्पन्न गराएको उनले बताए। 

अब वामपन्थी, देशभक्ति शक्तिहरू एकजुट हुनै पर्ने बेला आएको भन्दै उनले मुलुक र जनताको दीर्घकालीन हितका लागि कम्यूनिष्टहरुविच वैचारिक एकता र सहकार्यको खाँचो औँल्याए। 

असोज ३, २०८३ शनिबार २०:४४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।