कसले चलायो देवानगञ्जमा गोली ?

कसले चलायो देवानगञ्जमा गोली ?

काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मध्यहर्साइमा शनिबार साँझ गोली प्रहारबाट स्थानीय एक युवक घाइते भएका छन् भने घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले घाइते युवकलाई गोली लागे/नलागेको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको उनले बताए।

खड्काले उकेरासँग भने, “घटना ६ बजेतिरको हो। एक जना घाइते भएको छन्। अब गोली लागेको हो वा होइन भन्ने विषयमा हामीले अनुसन्धान गरिरहेका छौं। घाइतेलाई नोबेल अस्पताल, विराटनगरमा उपचार भइरहेको छ।”

त्यसैगरी देवानगञ्जका वडाध्यक्ष सूर्यनारायणका अनुसार गोली लागेर घाइते हुने स्थानीय नीरज यादव रहेको छन्। गोली चलाएको आरोपमा देवानगञ्ज २ का स्थानीय विष्णु यादव र जयकृष्ण यादव पक्राउ परेको उनले उकेरालाई बताए। सूर्यनारायणले भने, “यस विषयमा प्रहरीले देवानगञ्ज २ का २१/२२ वर्षका युवालाई पक्राउ गरेको छ। थप अनुसन्धान गरिरहेको छन्।”

यसै विषयमा रहेर उकेराले देवानगञ्जकै अर्का स्थानीयसँग बुझ्दा गोली चलाउने र खाने दुवै लागूऔषध कारोबारी र प्रयोगकर्ता भएको खुल्यो। उनले भने, “गोली हान्ने र लाग्ने लागूऔषध कारोबारी हुन्। के कुरामा चित्त बुझेन गोली हानिदिए।” 

असोज ३, २०८३ शनिबार २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।