संविधान भाषणमा होइन, नागरिकको जीवनमा देखिनुपर्छ : राष्ट्रपति पौडेल

संविधान भाषणमा होइन, नागरिकको जीवनमा देखिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कारले मात्र लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्।

संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानलाई केवल भाषण र कागजमा सीमित नराखी नागरिकको दैनिकीमा महसुस गराउनुपर्नेमा जोड दिए।

‘हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुन्छन्, यसका लागि आउनुहोस; आज हामी संविधानलाई भाषणमा होइन; नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ’, उनले भने। 

राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक भएको उनको भनाइ थियो। 

उनले संविधान कागजमा लेखिएका शब्द वा वाक्य सङ्ग्रहको लिखित दस्ताबेज मात्र नभइ यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा पनि भएको बताए।

आजको दिन विपतको पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन भएको उनले बताए। 

नेपाली जनताको सात दशक लामो सङ्घर्ष र बलिदानबाट जनप्रतिनिधिमार्फत संविधान जारी भएको ११ वर्ष पुरा भएको स्मरण गर्दै उनले यस गौरवमय क्षणमा लोकतन्त्र स्थापनाका लागि प्राण आहुति दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। साथै, निरङ्कुशता विरुद्धको आन्दोलनमा जेल, यातना र निर्वासन भोगेका योद्धा तथा सम्पूर्ण नागरिकप्रति आभार व्यक्त गरे।

असोज ३, २०८३ शनिबार १८:०५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।