चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोटको प्रयोग सुरु

चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोटको प्रयोग सुरु

काठमाडौं : पूर्वी चीनको निङ्बो शहरमा सवारीसाधन निरीक्षणका लागि एआई प्रविधियुक्त रोबोट प्रयोग गर्न थालिएको छ।

निङ्बोको सवारीसाधन व्यवस्थापन केन्द्रमा परीक्षणका रूपमा प्रयोग भइरहेको रोबोटले सवारीसाधनको बाहिरी अवस्था, मोडल र च्यासिस नम्बरलगायत विवरण स्वचालित रूपमा जाँच गर्न थालेको हो।

एआई चिप र उच्च रिजोल्युसन क्यामेरासहितको रोबोटले सवारीसाधनको वरिपरि घुमेर विभिन्न भागको निरीक्षण गर्ने र यसले कागजातमा रहेका विवरण र सवारीसाधनको वास्तविक अवस्थाबीचको मिलानसमेत स्वचालित रूपमा गर्ने जनाइएको छ।

रोबोटले सवारीसाधनमा घिसारिएको वा फेरबदल गरिएको संकेत, चोरी तथा तस्करीसँग सम्बन्धित अवस्था र गैरकानुनी रूपमा गरिएको परिमार्जन पहिचान गर्न सक्ने बताइएको छ। यसबाट निरीक्षण प्रक्रियामा लाग्ने समय घटाउनुका साथै नियमित र दोहोरिने काम स्वचालित बनाउन सकिने अपेक्षा गरिएको छ।

निङ्बो सवारीसाधन व्यवस्थापन कार्यालयका अधिकारी झाङ चेनका अनुसार रोबोट अहिले परीक्षण चरणमा छ। यसले दैनिक करिब चारदेखि पाँचवटा सवारीसाधन जाँच गरिरहेको उनले बताए। निरन्तर सिकाइ र प्रविधि स्तरोन्नतिसँगै रोबोटलाई थप प्रभावकारी बनाउँदै भविष्यमा विभिन्न स्थानमा प्रयोग गर्न सकिने झाङले बताए। उनका अनुसार सवारीसाधन डेलिभरी केन्द्रमा समेत यसको प्रयोग विस्तार गर्न सकिन्छ र सवारीधनीले स्वयंसेवा प्रणालीमार्फत सवारीसाधन निरीक्षण गर्न सक्ने अवस्था बन्न सक्छ।​​​​​​​​​​​​​​

निङ्बो नगर तथ्यांक ब्युरोका अनुसार गत वर्षको अन्त्यसम्म शहरमा ३० लाखभन्दा बढी निजी सवारीसाधन रहेका थिए। ठूलो संख्यामा रहेका सवारीसाधनको निरीक्षणलाई प्रविधिमैत्री र स्वचालित बनाउन एआई रोबोटको प्रयोगलाई महत्त्वपूर्ण प्रयोगका रूपमा हेरिएको छ।

असोज ३, २०८३ शनिबार १४:२०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।