३५ जिल्लामा कांग्रेसको वडा अधिवेशन सुरू, बाँकीमा आइतबार
काठमाडौं : नेपाली कांग्रेसको वडा अधिवेशन शनिबारदेखि ३५ जिल्लामा सुरू भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कुवालका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार शनिबार ती जिल्लाहरूमा वडा अधिवेशन सुरू भएको हो।
मधेश प्रदेशलगायत तराईका जिल्लाहरूमा भने विश्वकर्मा पूजा परेका कारण शनिबार अधिवेशन राखिएन। ती जिल्लाहरूमा आइतबारदेखि मात्रै वडा अधिवेशन सुरू हुने निर्वाचन समितिले जनाएको छ।
त्यस्तै, बाढीपहिरोका कारण प्रभावित जिल्लाहरूको अधिवेशन कार्यतालिका पनि हेरफेर गरिएको छ।
जसअनुसार धादिङमा आगामी असोज ५ गते तथा रसुवा र नुवाकोटमा असोज ७ गते वडा अधिवेशन हुने सदस्य सचिव कुवालले जानकारी दिए।
असोज ३, २०८३ शनिबार १३:०५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।