चलाउने हात इमानदार नभए संविधान कागज मात्रै बन्नेछ : प्रधानमन्त्री बालेन

चलाउने हात इमानदार नभए संविधान कागज मात्रै बन्नेछ : प्रधानमन्त्री बालेन

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संविधान जतिसुकै उत्कृष्ट भए पनि त्यसलाई चलाउने नेतृत्व इमानदार नभए त्यो एउटा ‘कागज’ मात्र बन्ने बताएका छन्।

संविधान दिवसका अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको तर यसको सफलता नेतृत्वको नियतमा भर पर्ने स्पष्ट पारे।

‘हामीले कहिल्यै बिर्सनुहुँदैन- संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्रै बन्नेछ’, सम्बोधनका क्रममा उनले भने।

देशमा भ्रष्टाचार र दण्डहीनताको जरो निकै गहिरो रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले त्यसलाई उखेलेर फ्याँक्न सरकार दृढ रहेको दाबी गरे।

‘म प्रष्ट भन्छु- यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ, तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन्’, उनले भने।

विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त रहेको भन्दै उनले सुशासन ‘नारा’ मात्र नभई सरकारको ‘काम’ भएको जिकिर गरे।

सुशासन कायम गर्नकै लागि सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया थालेको उनले जानकारी दिए।

संविधानले परिकल्पना गरेको कानुनी राज्य, मानवअधिकार, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र र समतामूलक समाज निर्माण राज्यका लागि सर्त नभई राष्ट्रिय जीवनको आधार भएको प्रधानमन्त्री शाहको भनाइ थियो।

संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सरकार प्रतिबद्ध रहेको उनले प्रष्ट पारे।

असोज ३, २०८३ शनिबार १०:२७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।