संविधानको समीक्षा पिँधका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ : सभापति लामिछाने

संविधानको समीक्षा पिँधका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ : सभापति लामिछाने

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान संशोधन वा समीक्षा गर्दा सीमान्तकृत र पिँधका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा बिहीबार एक सन्देश जारी गर्दै लामिछानेले संविधानलाई राजनीतिक स्वार्थको नभई नागरिक र राज्यबीचको पवित्र करारका रूपमा व्याख्या गरेका छन्।

‘संविधान एक जीवन्त दस्तावेज हो। यसका अन्तर्वस्तु राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा परिष्कृत वा संशोधन हुन सक्छन्,’ सन्देशमा लामिछानेले भनेका छन्, ‘संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ। तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ।’

लामिछानेले बेथिति र कमजोरीलाई सच्याएर लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्नुपर्नेमा जोड दिएका छन्। उनले राज्यका संस्थाहरू कमजोर भएकोतर्फ लक्षित गर्दै ‘बलियो राज्य भनेको बलिया संस्था हुन्’ भन्दै सुशासनको अभावप्रति वर्तमान नेतृत्वको आलोचना समेत गरेका छन्।

आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने राज्यको अभिभारा अझै पूरा हुन नसकेको उनको निष्कर्ष छ।

‘लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब यसले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्छन्’, उनले भनेका छन्।

आफ्नो सन्देशमार्फत लामिछानेले रास्वपाको वैचारिक लाइन सामाजिक लोकतन्त्र रहेको प्रष्ट्याउँदै त्यसैमार्फत समाजमा न्याय स्थापित गर्ने अठोट व्यक्त गरेका छन्।

उनले सबै राजनीतिक शक्ति र राज्यका अङ्गहरूलाई आ-आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणमा जुट्न आह्वान पनि गरेका छन्।

असोज ३, २०८३ शनिबार १०:१६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।