संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले मुलुकलाई जोगाउन सम्पूर्ण लोकतान्त्रिक र संविधान पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन्।
अध्यक्ष ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि थप प्रेरित गरेको स्मरण गरेका छन्।
संविधान निर्माणको कठिन घडीको सामना गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण र संरचनात्मक विकास गरी संविधानलाई कार्यान्वयनको चरणमा पुर्याएको उनको दाबी छ।
शुभकामना सन्देशमार्फत उनले लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
साथै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा उनले सुख र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
असोज ३, २०८३ शनिबार ०७:५१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।