जेनजी सांसदहरूलाई प्रधानमन्त्री शाहले भने : 'राजनीतिलाई पेसा नबनाउनू, व्यवसाय सुरु गर्नुस्'
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरेर काम आग्रह गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित अन्तरक्रियामा शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरे।
यसका लागि उनले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना-प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिए।
साथै, राजनीतिलाई पेसा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत आग्रह गरे।
उनले भने, “राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, त्यसैले सांसदहरू अरू नै व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ, सांसदको भूमिका सकिएपछि तपाईंहरूलाई अब आम्दानीको बाटो केही पनि छैन भनेर चिन्ता गर्न नपरोस्, त्यसका लागि अहिलेदेखि नै छुट्टै व्यवसाय पनि सुरु गर्नुहोस्।”
असोज २, २०८३ शुक्रबार १७:३२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।