क्रियाशील सदस्यताको रकम बुझाउन पाँच जिल्लाका सभापतिलाई कांग्रेसको पत्र

क्रियाशील सदस्यताको रकम बुझाउन पाँच जिल्लाका सभापतिलाई कांग्रेसको पत्र

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यताको रकम (लेबी) नबुझाएका पाँच जिल्लाका सभापतिलाई बैंक खातामा रकम पठाउन पत्राचार गरेको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले गत भदौ ३१ गते पत्र पठाएर बागलुङका सभापति जीत शेरचन, बझाङका खड्कबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, कञ्चनपुरका पदम बोगटी र मुगुका ऐनबहादुर शाहीलाई लेबी बुझाउन निर्देशन दिएका थिए।

पार्टीको १५औँ महाधिवेशनका लागि वडा तहबाट संकलन भई जिल्लामा आइसकिएको क्रियाशील सदस्यताको रकम केन्द्रमा नबुझाइएपछि कांग्रेसले पत्र पठाएको हो। केन्द्रीय कार्यालयको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गर्न निर्देशन दिइएको छ।

सम्बन्धित जिल्लाहरूमा अधिवेशनका लागि आवश्यक तयारी नभएपछि कार्यसमितिका अन्य पदाधिकारीलाई कार्यवाहकको जिम्मेवारी दिएर पार्टीले वडा अधिवेशनको प्रक्रिया अघि बढाएको छ। कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ।

असोज २, २०८३ शुक्रबार १४:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।