हुण्डी कारोबारको आरोपमा विराटनगरबाट दुई जना पक्राउ
सुनसरी : हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका-१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर-१७ का ३५ वर्षीय सुरजप्रसाद साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गर्यो।
शम्भुप्रसाद र सुरजप्रसादले हुण्डीमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकम हुण्डीमार्फत कारोबार गरेको भेटिएको थियो। व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी उनीहरूले अन्य व्यक्तिको मिलेमतोमा कारोबार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, सङ्गठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिमको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको सूचना अधिकारी खड्काले बताए।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
असोज २, २०८३ शुक्रबार १४:०८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।