भोटेकोशी बाढीको २३ दिनपछि पनि रसुवाको १० प्रतिशत क्षेत्र अझै अन्धकार

भोटेकोशी बाढीको २३ दिनपछि पनि रसुवाको १० प्रतिशत क्षेत्र अझै अन्धकार

काठमाडौं : विनाशकारी भोटेकोशी बाढी गएको २३ दिन बितिसक्दा पनि रसुवाका बाढी प्रभावित अझै अन्धकारमा बस्न बाध्य छन्।

छिमेकी जिल्लाहरू धादिङ र नुवाकोटका सम्पूर्ण प्रभावित क्षेत्रमा बिजुली बलिसक्दा रसुवाका करिब १० प्रतिशत क्षेत्रमा भने अझै विद्युत् सेवा सुचारु हुन सकेको छैन।

गत भदौ १० गतेको बाढीले जलविद्युत् आयोजना र प्रसारण लाइनका पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि यी तीन जिल्लामा विद्युत् आपूर्ति ठप्प भएको थियो।

सरकारले बाढीको भोलिपल्टैबाट मर्मतको काम थालेको बताए पनि रसुवाका चारवटा वडा अझै राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार रसुवाको १० प्रतिशत भूभागमा अझै बिजुली पुर्याउन सकिएको छैन।

बाढीबाट अति प्रभावित उत्तरगया गाउँपालिकाको वडा नम्बर १ तथा गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा अझै बिजुली बल्न सकेको छैन।

बाढीले पोल तथा तारहरू बगाएको र सडक सञ्जालसमेत विच्छेद भएकाले ती वडामा राष्ट्रिय ग्रिडको बिजुली पुर्याउन कठिन भइरहेको छ।

रसुवाका नागरिकले २३ दिनदेखि टुकी र ब्याट्रीको भरमा रात काटिरहँदा धादिङ र नुवाकोटका प्रभावित क्षेत्रमा भने विद्युत् सेवा पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ।

मन्त्रालयका अनुसार धादिङमा बाढी गएको केही दिनभित्रै र नुवाकोटमा भदौ २४ गते नै सम्पूर्ण प्रभावित क्षेत्रमा बिजुली सुचारु भइसकेको थियो।

तत्कालै राष्ट्रिय प्रसारण लाइन मर्मत गरी बिजुली पुर्याउन सम्भव नदेखेपछि सरकारले रसुवाका ती क्षेत्रमा वैकल्पिक ऊर्जाको सहारा लिन थालेको छ।

प्रवक्ता शाक्यले प्रसारण लाइन नपुगेका क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा संस्थागत तथा घरेलु सौर्य प्रणाली (सोलार) जडान गर्ने काम अघि बढाइएको जानकारी दिए।

‘ती वडामा क्रमशः सोलारमार्फत विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको छ’, उनले भने।

असोज २, २०८३ शुक्रबार ०९:०७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।