भोटेकोशी बाढी : ६७७ यातायात मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराए
काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ६७७ जना यातायात मजदुर सम्पर्कविहीन भएका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अनुसार बाढीमा ५१५ वटा ट्रक तथा कन्टेनरसमेत हराएका छन्।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार बसेको बैठकमा महासङ्घले क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गरेको हो।
महासंघले मानवीय तथा भौतिक क्षतिको यो विवरण प्रारम्भिक मात्र रहेको र सम्पर्कविहीन मजदुर एवं हराएका सवारीसाधनको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन र क्षतिपूर्तिको आधार तय गर्न पूर्वाधार विकास मन्त्रालयले विभागका महानिर्देशक पोखरेलकै संयोजकत्वमा एक कार्यदल (समिति) गठन गरेको छ। यस समितिलाई १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
उक्त समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, मन्त्रीको सचिवालयका प्रतिनिधि, यातायात व्यवसायी र यातायात मजदुर संघ-संगठनका प्रतिनिधिहरू समावेश छन्।
त्यसैगरी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका तर्फबाट अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासचिव बद्रीप्रसाद चौलागाईंलगायत पनि समितिको सदस्य रहेको जनाइएको छ।
असोज २, २०८३ शुक्रबार ०८:३३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।